यूरो कप फुटबलको क्वार्टरफाइनलमा आज स्पेनले स्वीटजरल्याण्डको र बेल्जियमले इटालीको सामना गर्दै

काठमाडौं, असार १८ गते । यूरो कप फुटबलको क्वार्टरफाइनलमा आज स्पेनले स्वीटजरल्याण्डको तथा बेल्जियमले इटालीको सामना गर्दैछ । अन्तिम १६ मा फ्रान्सलाई हराउँदै खेल प्रशंसकलाई स्तब्ध बनाएको स्वीटजरल्याण्डलाई रोक्न स्पेनका लागि कठीन कार्य हुनेछ ।
बेल्जियमले भने यूरो कप फुटबलको साबिक विजेता पोर्चुगललाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

      इटालीको अपराजित यात्रा कायमै रहँदा र बेल्जियम उत्कृष्ट लयमा भएकोले दुबैबीचको खेल प्रशंसकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।यूरो कप फुटबलमा स्पेन र स्वीटजरल्याण्डको यो पहिलो भेट हुनेछ । यसअघि दुबै टोलि विश्वकप फुटबलमा तीन पटक एक अर्काको सामना गरेको छ । सन् १९६६, १९९४ र २०१० को विश्वकप फुटबलमा दुई टोलिबीच स्पर्धा भएको थियो । स्पेनले बिगत्मा दुई पटक हराएपनि सन् २०१० को विश्वकप फुटबलमा स्वीटजरल्याण्डले स्पेनलाई स्तब्ध बनायो ।हालसम्म भएको सबै खेलमा स्पेन र स्वीटजरल्याण्डबीच २२ पटक भेट भएको छ । जसमध्ये स्पेनले १६ मा जित र पाँच हार बेहोरेको छ ।


स्वीटजरल्याण्ड यूरो कप र विश्वकप फुटबलमा क्वार्टरफाइनलसम्म पुगेको यो चौथो अबसर हो । र यूरो कप फुटबलको क्वार्टरफाइनलसम्म पुगेको भने यो पहिलो अबसर हो । विश्वकप फुटबलमा तीन पटक क्वार्टरफाइनलसम्म पुगेपनि स्वीटजरल्याण्डले सेमीफाइनलको यात्रा तय गर्न सकेको छैन् ।
खेलको पूर्ब सन्ध्यामा स्वीटजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले एक चरण अगाडि बढ्ने भोक रहेको प्रतिक्रिया दिनुभएको छ । विश्वकप फुटबलको क्वार्टरफाइनलमा उसले सन् १९३४ मा चेकोस्लोभाकिया, सन् १९३८ मा हँगेरी र सन् १९५४ मा अष्ट्रिया बिरुद्ध हार बेहोरेको छ ।
स्वीटजरल्याण्डले यूरोपेली च्याम्पियनशीपको पछिल्लो दुई खेलमा तीन तीन गोल गरेको छ । यसअघिको १५ प्रमुख कुनै पनि प्रतियोगितामा उसले दुई गोलभन्दा बढी गर्न सकेको थिएन ।
स्वीटजरल्याण्डको यूरो कप फुटबलको यात्रामा क्वार्टरफाइनलसम्म पुर्याउन हेरिस सेफेरोभिकले महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले पछिल्लो दुई खेलमा तीन गोल गर्नुभएको छ । त्यसअघिको १३ खेलमा उहाँले एक गोल मात्रै गर्नुभएको थियो ।


यूरो कप फुटबलको इतिहासमा लगातार दुई खेलमा पाँचभन्दा बढी गोल गर्ने स्पेन पहिलो राष्ट्र बनेको छ । यसअघिको ४२ खेलमा उसले चारभन्दा बढी गोल गर्न सकेको थिएन । स्पेनका लागि फेर्रन टोरस आफ्नो नौ खेलमा सात गोल गर्नुभएको छ ।


स्वीटजरल्याण्डले अन्तिम १६ मा १२० मिनेटसम्म फ्रान्सलाई ३–३ को बराबरीमा रोकेको थियो । पेनाल्टी शूटआउटमा उसले फ्रान्सलाई हराएर क्वार्टरफाइनलमा स्पेन बिरुद्धको भेट तय गरेको थियो । लुईस एनरिकको स्पेनले सन् १९६४, २००८ र २०१२ मा यूरो कप फुटबलको उपाधि उचालेको छ । उसले अन्तिम १६ मा क्रोएशियाको सामना गरेको थियो । अतिरिक्त समयमा क्रोएशियामाथि स्पेनले ५–३ को जित निकालेर क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड बिरुद्धको भेट तय गरेको हो ।


समूह चरणमा तीन खेलमध्ये एकमा मात्रै जित हात पारेको स्वीटजरल्याण्डले तेस्रो स्थानमा रहँदै नक आउट प्रबेश पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *