रोग र भोकका कारण कष्टकर जीवन बिताउँदै वृद्धा

लमजुङ, ३० जेठ : “उमेर भइसक्यो असी, झन् ठूलो दुःखले घेरेको सिमली छायाँमा बसी भरिया लामो सास फेरेको..!” जनवादी गायक जीवन शर्माले गाउनुभएको गीतका यी हरफले बोलेझैँ उमेरले ८० नाघेकी सुन्दरबजार नगरपालिका–४ अर्चल्यानीकी टीकाकुमारी सेढाईंको उमेर जति घर्किँदो छ, दुःखको पहाडले त्यति नै थिच्दै गइरहेको छ ।

तातो–चिसोको ख्याल गर्दै खानपिन र स्याहारसुसार पाउनुपर्ने अवस्थाकी ८७ वर्षीया यी वृद्धा निकै दयनीय र कष्टकर जीवन बाँचिरहनुभएको छ । तातो, नरम र मिठो–मसिनोको त कुरै छाडौँ साँझ–बिहानको दुःखको गाँससमेत आँसुसँग निल्दै आइरहनुभएको छ । वृद्धावस्थामा हेरचाह र स्याहारसुसार गर्ने परिवार र आफन्त नहुँदा रोग, शोक र उमेरको बोझले थलिनुभएकी सेढाईंको जीवन कष्टकर बन्दै गइरहेको हो । उहाँ लामो समयदेखि एक्लै बस्दै आउनुभएको छ ।

पुरानो घर, त्यही माथि घरको विभिन्न ठाउँमा प्वालैप्वाल परेको छ । खाने, बस्ने ठाउँ राम्रो छैन । सुत्ने ओछ्याउने नहुँदा चिसो भुइँमै सुत्दै आउनुभएको छ । त्यही आफू सुत्ने तथा खाना पकाउने ठाउँमा बाख्रा राखेर त्यही बाख्रा राख्ने ठाउँमै सुत्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाले राम्रो ठम्याइ पाउँदिनँ, हत्तपत्त कान नि सुन्दिनँ, यताउता गर्न पनि भनेको बेला नसक्ने भइसकेकाले जीवनमा धेरै दुःख भइरहेको छ ।” वृद्धाको घरमा न बिजुली बत्ती न कुनै उज्यालोको माध्यम नै छ । दिनमा जसोतसो गर्न सके पनि रातिको समयमा बाहिर शौचायलय जानु परेमा छामछाम छुमछुम गर्दै निस्कने गरेको र कुनै बेलामा त लड्ने गरेको उहाँले सुनाउनुभयो । शारीरिक र आर्थिक अवस्थामा दयनीय जीवन बिताउन बाध्य वृद्धा सेढाईंले सुखको सपना देख्न नै बिर्सिसक्नुभएको छ ।

करिब २० वर्षअघि श्रीमान् महाकान्त सेढाईंको मृत्यु भएसँगै सहाराविहीन जीवनमा जसोतसो दिन बिताउँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफूपट्टि छ सन्तान भए पनि सबै खेर गएकाले श्रीमान्ले अर्की कान्छी श्रीमती ल्याउनुभयोे । श्रीमान् हुँदा अलिअलि खानका लागि हेर्ने गर्नुहुन्थ्यो, श्रीमान् बितेपछि त कान्छीपट्टिका छोराछोरीले पनि हेर्दैनन् ।” “उनीहरु शहरमा बस्छन् । यहाँ मलाई एक छाक टार्नसमेत अरुको भर पर्नुपरेको छ”, उहाँले भन्नुभयो, “खानाका लागि माग्नलाई पनि अरुको घर घरै जान सक्दिनँ, कसैले ल्यायो भने, खान्छु नत्र कैयौँ दिन भोकभोकै पनि बस्दै आएकी छु । खानेपानी पनि घर नजिकै छैन, घरभन्दा तल अलि टाढा छ ।” टाढा भए पनि जसोतसो गरेर ल्याउने गरेको वृद्धाले सुनाउनुभयो । उहाँको दुःख यति मात्र छैन । कान्छो छोरो जन्मेदेखि अर्थात् ३० वर्षदेखि छिनछिनमै पिसाब चुहिने समस्याले सताउँदै आए पनि हालसम्म पैसा नभएकाले उपचार गर्ने कुरा स्वर्ग पुग्नुजस्तै भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मर्न बरु सहिजो हुन्छ होला, बाँच्नलाई साह्रै गाह्रो भइरहेको छ । अलिअलि हिँड्न सकिरहेकी छु, बिरामी पर्दा र अझै उमेर ढल्दै जाँदा एक मुख पानी खानलाई पनि के गरेर खाने भन्ने चिन्ताले सताइरहेको छ ।” उहाँले वृद्धाभत्ता चार÷चार महिनामा रु १२ हजार माइती दाजुले बुझ्ने गरेको र आफूलाई रु पाँच हजार मात्रै दिने गरेको बताउनुभयो । त्यही रु पाँच हजारले चार÷चार महिनामा मिठो–मसिनो खाने गरे पनि पर्याप्त नहुँदा खानलाई समेत समस्या हुने गरेको उहाँको भनाइ छ । वृद्धा सेढाईँ पहिला सक्ने बेलामा गाउँघरमा कसैको विवाह, व्रतबन्ध, पूजाआजा भएको बेलामा सालको पात टिपेर ल्याएर दुना, टपरी बुनेर दिने र सोवापत केही रकम तथा अन्नपात लिने र त्यहीबाट जीवन चलाउनुहुन्थ्यो । केही वर्षपछि हिँड्डुल गर्नै नसक्ने अवस्थामा पुगेपछि गाउँमा उहाँ जान छाडेको र खानलाई पनि समस्या पर्न थालेको स्थानीयवासी टेकबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँलेले कहिलेकाहीँ दयामायाले खाना दियो भने खानुहुन्छ, नत्र आफैँ जानुहुन्न, काम पनि गर्न नसक्ने भएकाले कति दिन पटक–पटक भोकै पनि बस्दै आउनुभएको छ ।” त्यस्तै अर्का स्थानीयवासी कृष्णप्रसाद अधिकारीले भन्नुभयो, “वृद्धाको अवस्था देखेर पनि गाउँलेले उहाँको उपचार गर्नेतर्फ ध्यान दिन नसकेकाले रोगसँग लडिरहनुभएको छ । उहाँको समस्या समाधान गर्नका लागि सबै गाउँ एकजुट भएर लाग्नुपर्छ ।” “लामो समयदेखि वृद्धाले शारीरिक अवस्था र आर्थिक अवस्थाले गर्दा विभिन्न समस्या झेल्दै आउनुभएको रहेछ, तर केही दिनअघि मात्र थाहा पाएँ”, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले भन्नुभयो, “उहाँको बस्ने ठाउँ राम्रो, छैन, शौचालय छैन, धारा छैन, बिजुली रहेनछ, एउटा सुत्ने खाट पनि नरहेछ, यस्तो अवस्थामा रहेका उहाँलाई नगरपालिकाले ती सुविधा तथा व्यवस्था गर्नेछ ।” वृद्धामा वर्षौँदेखि पाठेघरको समस्या रहेकाले उपचार ढिलो भएको छ ।

ढिलै भए पनि अब निषेधाज्ञा खुलेपछि सुविधासम्पन्न अस्पतालमा लगेर जाँच गर्ने र आवश्यक उपचार गरिदिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो अवस्था रहेको जानकारी यहाँका स्थानीय राजनीतिक दल, समाजिक अगुवा, जनप्रतिनिधि एवं वडाध्यक्षले नगरपालिकामा जानकारी दिनुपथ्र्यो, नदिँदा हालसम्म पनि जानकारी भएन”, नगरप्रमुख मिश्रले भन्नुभयो, “ढिलै भए पनि उहाँलाई राज्य नभएको अनुभूति नहोस्, राज्य तथा सरकार छ भन्नका लागिसमेत उहाँको विभिन्न समस्यामा साथ दिँदै समाधानतर्फ स्थानीय सरकार अघि बढ्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *