महोत्तरीकाे आधा दर्जन नदीमा बाढी

जलेश्वर, १८ असार : विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।

यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रुपमा सतर्क भएको जनाइएको छ । यसैबीच जिल्लाको बलवा नगरपालिका–१ स्थित बर्दिया बञ्चौरी गाउँमा रातो नदीले तटबन्ध कटान गर्न शुरु गरेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *