भारतको आर्थिक सहयोगमा पाल्पामा २ उमावी र एक क्याम्पसको नयाँ भवन निर्माण

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा पाल्ला जिल्लामा २ उच्च माध्यमिक विद्यालय र एक बहुमुखी क्याम्पस निर्माण भएका छन् । भारत सरकारको नेपाली रुपैयाँ ९ करोड ८३ लाख आर्थिक सहयोगमा श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरुको निर्माण भएको हो । यहि वैशाख ९ र १० गते भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन पनि गरिसकेका छन् ।

श्री रम्भादेवी उच्च माध्यमिक विद्यालयको बारेमाः
श्री रम्भादेवी उच्च माध्यमिक विद्यालय पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको थियो । सोही विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भयो । हाल विद्यालयमा ६७५ विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् ।‘‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठि, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि एक–एकवटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

श्री लक्ष्मी उच्च माध्यमिक विद्यालयको बारेमाः
श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय पाल्पा जिल्लाको तानसेन–५, बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको हो ।
सन् २००८ माउच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको थियो । हाल यस विद्यालयमा ३५० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड १३ लाख अनुदानमा निर्मित यस दुईतल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शै्याको होस्टल भवन, चर्पी, पानी ट्याङ्की, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

श्री नव आर्दश बहुमुखी क्याम्पसको बारेमाः

त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट सम्बन्धन प्राप्त श्री नव आर्दश बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हाल क्याम्पसमा ३० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको २ करोड ४८ लाख अनुदानमा निर्मित यस दुई तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।

भारतले नेपालमा ४४८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये पाल्पा जिल्लाका ७ वटा सहित प्रदेश नं ५ मा ४१ वटा परियोजनाहरु रहेका छन् । पाल्पा जिल्लाको एउटा परियोजना सहित प्रदेश नं ५ मा भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित नौवटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । यी बाहेक पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थालाई भारतीय राजदूतावासले १२ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

यस नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ । यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित छ । यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई पूर्णता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *