भारतद्वारा गोरखा जिल्लामा श्री हिमालय माध्यमिक विद्यालयको निर्माण सम्पन्न

भारत सरकारको नेरु. ४ करोड ३३ लाख आर्थिक सहयोगमा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका—६, घैरुङ्गमा निर्माण गरिएको श्री हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको आज भारतीय राजदूतावासका प्रशासन प्रमुख श्री करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन भयो ।

‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक—एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहनेछन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप पहिले ‘साना विकास परियोजना’ को नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् । भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । यसको अलावा, भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसीर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ । भारतले गोरखामा भूकम्पले क्षति पु¥याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ ।

सन् १९६० मा स्थापित श्री हिमालय माध्यमिक विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा करिब २५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई क्षमतालाई अझ अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पु¥याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *