फागुनसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप ल्याइने ?

काठमाडौं । नेपालले कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरेको सात दिनभित्रै खोप कार्यक्रम शुरु गर्ने भएको छ । खोप ल्याउन विभिन्न देशसँग प्रयास भईरहेको भन्दै प्राप्ती भएको सात दिनभित्र कार्यक्रम शुरु गरिने भएको हो । त्यसका लागि स्वास्थ्य मन्त्रालयले देशभर अहिले रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

नेपालमा हाल माइनस दुई देखी माइनस आठ डिग्रीका एक करोड ७७ लाख खोपको डोज भण्डारण गर्ने क्षमता रहेको छ । यो क्षमतालाई बढाउने गरी सातै प्रदेश र केन्द्रमा भण्डारण क्षमता बनाइदै गरेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । ‘सातै वटै प्रदेश र केन्द्रमा एउटा÷एउटा भण्डारण केन्द्र बनाउने गरी काम गरिरहेका छौं’, उनले भने । कोभ्याक्सले दिने भनेको खोप पनि केही मात्रामा भण्डारण गर्ने क्षमता नेपालसँग रहेको छ ।

कोभ्याक्सले सम्भवत माइनस २० डिग्रीमा भण्डारण गरेर राख्नुपर्ने खोप दिने सम्भावना रहेको छ । सो अनुसार नेपालसँग तीन प्रतिशतलाई पुग्ने अर्थात ९ लाख ११ हजार खोप अटाउने भण्डारण केन्द्र रहेको सचिव अर्यालले जानकारी दिए । ‘माइनस २० डिग्रीको खोप लिनुपर्यो भनेपनि ३ प्रतिशत अर्थात ९ लाख ११ हजार जनालाई पुग्ने गरी भण्डारण गर्ने क्षमता छ’, उनले भने, ‘सो खोप फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिने छौं ।’

नेपालले खोप ल्याउन खोप उत्पादन वा परिक्षण गरिरहेका भारत, रुस र युनाइटेड अरब इमिरेट्ससँग छलफल समेत गरेको छ । नेपालले सबैभन्दा आश गरेको खोप भने कोभिडशिल्ड हो । जसका लागि भारत भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि थप सहमति गरेर फर्किने आशा गरिएको छ । यो खोप नेपालका लागि सुहाउदो रहेको बताइएको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि खोप चाडै आउनेमा विश्वस्त हुन आग्रह गर्दै निशुल्क रुपमा न्यायोचित तवरमा वितरण हुने दावी गरे । उनले कहिलेसम्म खोप आउछ भनेर यकिन साथ नभनेपनि फागुनमा आउन सक्ने भने संकेत गरेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा खोप कहिले आउछ रु भन्ने प्रश्नमा उनले भने, ‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ । यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *