बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु 

बझाङ, पुस ९ गते । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिनुभयो । “रासस”

Leave a Reply

Your email address will not be published. Required fields are marked *