भारतद्वारा धनुषामा लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय भवन निर्माण

जनकपुरधाम – भारत सरकारको नेरु. २.६२४ करोड आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयमा भवन निर्माण भएको छ ।

नवनिर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीयप्रतिनिधिहरुद्वारा सोमबार संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधासहितको उक्त तीनतल्ले विद्यालय भवनको निर्माण भएको हो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको दूतावासले जनाएको छ ।

भारतले हालसम्म नेपालमा४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् ।

धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ माभारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् ।

धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रुपमा नियुक्त गरेको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको छ ।

धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो ।

विद्यालयमा करिब ११०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशतभन्दा बढी छात्रा रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *