देशभर चिसो बढ्यो, तराईमा पातलो कुहिरो लाग्ने

काठमाडौँ, कात्तिक २२ गते । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।    
    
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा छ । “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भन्नुभयो, “केही दिन तराईमा पातलो कुहिरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्य कमजोर बनाउनेछ ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *