अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु

डोटी, कात्तिक १७ गते। अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलका अन्दाजी ७५ वर्षीया कटी लुहार रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वनमा गोठाला गएका बेलामा रुखमा गोलो बनाइ बसेको अरिङ्गालले आइतबार साँझ उहाँलाई टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएकी ती महिलालाई मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आइतबार राति नै घरमा लगिएको थियो ।

घरमा लगिएकी महिलाको आज बिहान करिब २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएको छ ।  तीन दिनको अवधिमा जिल्लामा अरिङ्गालको टोकाइबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिन पहिले मात्रै जिल्लाको सायल गाउँपालिकाका एकै घरका दुई बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *