उपत्यकामा एक हजार ८८८ मा सङ्क्रमण पुष्टि

कात्तिक १४ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ८८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा एक हजार ८८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ८८८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ७८१ महिला र एक हजार १०७ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ५१७ सङ्क्रमित थपिएका छन् । चार हजार ९६ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले आफ्नो नियमित अद्यावधिक विवरणमा उल्लेख गरेको छ । 
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार २४२, ललितपुरमा दुई हजार ३४५ र भक्तपुरमा एक हजार १६५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म कुल ३३३ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २१२, ललितपुरमा ५८ र भक्तपुरमा ६३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *