प्याज कालोबजारी गर्ने प्रहरी नियन्त्रणमा

काठमाडौँ, भदौ ३१ गते । महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु प्याजका व्यापारी सुनिल केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरीसमेत सहभागी रहेको संयुक्त अनुगमन टोलीले व्यापारी केसीको पसलबाट २४० बोरा प्याज लुकाएर राखेको अवस्थामा बरामद गरेर कालीमाटी प्रहरीलाई जिम्मा लगाएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले निज व्यापारीले प्याज लुकाएर बढी मूल्य दिनेलाई दुई ÷तीन बोराका दरले विक्री गर्ने गरेको पनि फेला परेको जानकारी दिनुभयो । उहाँले प्याज प्रतिकेजी ४८ रूपियाँमा खरिद गरेर १४० रूपियाँमा विक्री गरेको पनि अनुगमनका क्रममा फेला परेको जानकारी दिनुभयो ।
महानगरको बजार अनुगमनको नेतृत्व गर्नुभएका हरिबहादुर भण्डारीले निज व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणसहित फेला परेकाले कालोबजारी ऐन अनुसार कारबाही हुने बताउनुभयो । सोमबारसम्म प्रतिकेजी ६५ रूपियाँमा विक्री भएको प्याज भारतले निर्यात रोकलगाएको हल्लासँगै मगंलबार प्याजको एक्कासि महँगो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *