नेपालगञ्जकाे अस्पतालमा रेम्डिसिभिर र प्लाज्मा दिइएका गम्भीर संक्रमितको स्वास्थ्यमा सुधार

नेपालगञ्ज, भदौ १८ गते । बाँकेका दुई ठुला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना संक्रमितको स्वास्थ्यमा क्रमश सुधार देखिएको अस्पतालले जनाएका छन् ।
भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिईएका सल्यान शारदा नगरपालिका–६ का २९ बर्षीय गम्भीर कोरोना संक्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षिय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाईएको छ ।
भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा. खगेन्द्रजंग शाहले गत शुक्रवार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मंगलवार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताउनुभयो ।
उहाँले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफुहरु उत्साहित भएको बताउनुभयो ।
डा. शाहले संक्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उहाँलाई विहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताउनुभयो ।
ती संक्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको थियो । बाँकेमा पहिलो प्लाज्मा दिने व्यक्ति पनि उहाँ बन्नुभएको थियो ।
चार जनालाई रेम्डिसिभिर दिईंदै, पहिलोको स्वास्थ्यमा सुधार
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना रहेका धनगढीका गम्भीर संक्रमित पुरुषलाई पहिलो पटक रेम्डिसिभिर दिएपछि उहाँको स्वास्थ्य अवस्थामा पनि सुधार आएको शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले पहिलो पटक संक्रमितलाई मंगलवार रेम्डिसिभिर औषधि दिएको थियो ।
संक्रमितको उपचारमा संलग्न फिजिसियन डा. विकले न्यायलयका उच्च अधिकारी ती संक्रमितलाई विहीबारसम्म आइपुग्दा रेम्डिसिभिरको पाँचौ डोज दिईएको बताउनुभयो ।
उहाँको स्वास्थ्यमा उत्साहजनक सुधार भैरहेको जनाउँदै सोही अस्पतालमा रहनु भएका अन्य गम्भीर अवस्थाका एक जना अन्य संक्रमितलाई पनि रेम्डिसिभिरको दोस्रो डोज दिईएको र थप दुई जना अरुलाई पनि विहीबारनै रेम्डिसिभिर दिइने बताउनुभयो ।
डा. विकका अनुसार गम्भीर संक्रमितलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्दा रेम्डिसिभिर औषधि दिइने गरिएको छ ।
कोहलपुर अस्पतालले पश्चिम नेपालबाट पहिलोपटक यस्को प्रयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *