काठमाडौँ : नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न भएको छ ।
दुई देशबीच लामो सीमा विवादपछि सम्भव भएको पहिलो आधिकारिक भर्चुअल बैठक भारतको सहयोग र सहकार्यमा सञ्चालित परियोजनाहको कार्य प्रगतिबारे केन्द्रित थियो । नेपालको तर्फबाट वार्ताको नेतृत्व परराष्ट्र मन्त्रालयका प्रवक्ता शंकर वैरागीले गरेका थिए भने भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए । बैठकपछि जारी वक्तव्यमा दुवै पक्षबीच तीव्र रुपमा परियोजना कार्यान्वयन गर्ने सहमति भएको उल्लेख छ ।
यस्तै बैठकका क्रममा नेपालले भूकम्प र कोभिड १९ महामारी विरुद्ध भारत सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेकी थियो । यसअघि शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन मार्फत शुभकामना दिएका थिए । उक्त टेलिफोन वार्ताको दुई दिनपछि दुई देशका अधिकारीहरुबीच आधिकारिक वार्ता सम्भव भएको हो ।
पछिल्लो समय नेपाल र भारतका राजनीतिज्ञ तथा उच्च अधिकारीहरुबीच सीमा विवादले तिक्तता उत्पन्न गरेको थियो । तर सोमबार सम्पन्न वार्तामा दुई देशका अधिकारीबीच भूकम्पको क्रममा भारतले गरेको सहयोग प्रतिवद्धता र अन्य परियोजनाबारे खुलेर छलफल भएको बताइएको छ ।