जापानबाट यी कुराहरू सिक्ने कि !

 २४ असार २०७७ ०८:५६:००

दोस्रो विश्वयुद्धभन्दा पहिला जापानमा आर्थिक विकास भएको थिएन। यद्यपि ठूला कलकारखाना भने थिए। जापानको विकासमा प्रमुख भूमिका भनेको यहाँको पद्धति तथा संस्कार नै हो। जापानको विकासको मूल सूत्र नै गुणस्तरीय काम तथा कामको सम्मान नै हो। जापानबाट सिक्न सकिने केही विषय यहाँ प्रस्तुत गरिएको छ।

कडा कानुन  : जापानमा नागरिकलाई कानुनबमोजिम पूर्ण स्वतन्त्रता छ। तथापि जापानिज कानुनलाई कडा नै मानिन्छ। जस्तै– मादक पदार्थ सेवन गर्न छुट छ। तर मापसे गरेर सवारी चलाउनेलाई जीवनभर चालक अनुमति प्रमाणपत्र खारेज गरी कम्पनीबाट सधैंका लागि निष्कासन गरिनेछ। नेपालबाट मासु लिएर जापानमा प्रवेश हुँदा अध्यागमन अधिकृतले एयरपोर्टबाट सपरिवार जापानबाट देश निकाला गरी नेपालमै पठाएको थियो।

कामप्रतिको सम्मान गर्ने संस्कार  : जापानमा कामलाई सानो ठूलो भनिँदैन। काम गर्ने ठाउँमा आफ्ना श्रमिकसँगै म्यानेजरहरू पनि काम गर्छन्। यहाँ काम यसो गर उसो गर भनी निर्देशन दिनुभन्दा पनि म्यानेजर आफैं सँगै काम गर्छन्। सबै प्रकारको पार्टटाइम काममा औसतमा घन्टाको जापानिज येन एक हजारदेखि एक हजार दुई सयसम्मको ज्याला दिइन्छ। राति गर्नुपर्ने तथा धेरै शारीरिक बल पर्ने काममा भने अलि बढी नै ज्याला दिइन्छ। जापानमा कपाल काट्ने काम पनि जापानिजले नै गर्छन्।

सफा तथा स्वच्छ वातावरण  : जापान विश्वकै सफा मुलुकमै गनिन्छ। उच्च औद्योगिक कलकारखाना भए पनि वातावरण प्रदूषण देखिँदैन। यहाँ पहिलो त कसैले पनि बाहिर फोहोर गरेको देखिँदैन। फोहोर गरिएमा पनि कडा जरिमाना छ। नगरपालिका दिन बिराएर फोहोर लिन आउँछ। त्योबाहेक ठूलाठूला पुराना सामान फाल्न परे नगरपालिकामा गएर निवेदन दिनुपर्ने छ। निश्चित रकम तिरेर मात्र फोहोर फाल्न पाइन्छ। विद्यालयमा सफा गर्ने मानिस हुँदैन। विद्यार्थी आफैंले कक्षा कोठा सफा गर्नुपर्छ। हरेक वडामा एउटा पार्क र खेल मैदान हुन्छ। पार्कमा बालबालिकालाई खेल्ने सामग्री राखिएको हुन्छ भने भूकम्प गएमा सुरक्षित बस्नसमेत सकिने व्यवस्था गरिएको हुन्छ।

सार्वजनिक सेवा प्रवाह  : जापानमा सूचना प्रविधिको प्रयोग अधिकतम भए पनि सूचना प्रविधिसँगै कागजी प्रक्रिया पनि अवलम्बन गरिँदै छ। जापानमा वडा कार्यालयलाई सिटी अफिस भनिन्छ। सिटी अफिसमा एकजना सेवाग्राहीलाई एकैजना कर्मचारीले काम नसकेसम्म सबै प्रक्रिया पूरा गरिदिन्छ। भ्रमण भिसाबाहेकका सबै जापानमा बस्ने व्यक्तिले सिटी अफिसमा अनिवार्य रूपमा रेकर्ड राख्नुपर्छ। हरेक व्यक्तिको रेजिडेन्ट कार्ड हुन्छ। विदेशी नागरिकले रेजिडेन्ट कार्ड २४ सै घन्टा बोक्नुपर्छ। प्रहरीबाट कुनै बेला शंका भई जाँच भएमा रेजिडेन्ट कार्ड देखाउन नसकिएमा भारी जरिमाना तिर्नुपर्ने हुन्छ। ठेगाना परिवर्तन भएको दुई साताभित्र विवरण सिटी अफिसमा अद्यावधिक गर्नुपर्छ। सिटी अफिसबाट प्राप्त गर्ने हरेक सेवासुविधाका लागि रिसेडेन्ट कार्ड चाहिन्छ।

यहाँ कर्मचारीको मूल्यांकन ३६० डिग्रीमा गरिन्छ। यसको अर्थ आफ्नो सिनियर र जुनियर तथा सँगैको लेभलका साथीहरूले आफ्नो मूल्यांकन गरिन्छ। आफ्नो जुनियर कर्मचारीबाट पनि सिनियरले सिक्ने गर्छ। जापानका सडकमा उच्च सवारी चाप देखिन्छ। तथापि सडकमा ट्राफिक प्रहरी त के कुनै पनि प्रहरी देखिँदैन। सबैले ट्राफिक सिग्नलको प्रयोग गर्छन्। सडकमा जथाभावी बाटो काट्दैनन्। जापानमा बसोवास गर्ने जापानिज वा गैरजापानिज सबै बालबालिकाका लागि आमाबाउको आम्दानी, परिवारमा बालबालिकाको संख्या तथा बालबालिकाको उमेरअनुसार १० देखि २० हजारसम्म भत्ता पाउँछ।

 सडक तथा यातायात  : जापानमा यातायात साधनमा मेट्रो ट्रेन, फास्ट ट्रेन, बस, ट्याक्सी तथा साइकलको नै प्रयोग हुन्छ। प्राय : हरेक जापानिजको निजी कार रहेको देखिन्छ। तथापि जापानिज स्कुल, अफिसमा जाँदा मेट्रो ट्रेनको नै अधिक प्रयोग गर्छन्। सबैभन्दा लोकप्रिय मेट्रो नै देखिन्छ। जापानमा मोटरसाइकल ज्यादै न्यून छ। साइकलका लागि छुट्टै ट्र्याक छ। हरेक साइकलको नम्बर हुन्छ। मापसे गरेर साइकल पनि चलाउन पाइँदैन। दृष्टिविहीनका लागि हिँडडुल गर्न सडकपेटीमा विशेष खालको ट्राय बनाइएको छ।

 शान्तिसुरक्षा  : जापान संसारकै सुरक्षित देशका रूपमा रहेको छ। यहाँ आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना दर ज्यादै न्यून छ। दिन होस् या रात कुनै पनि समय निर्धक्क हिँड्न सकिन्छ। चोरी अपराध बलात्कार भन्ने शब्द जापानको शब्दकोशमा नै छैन कि जस्तो लाग्छ। अर्को महत्वपूर्ण कुरा बाटो, ट्रेन वा कहींकतै सामान छुटेको छ भने कसैले छुँदैनन्। प्रहरीले पछि सम्पर्क गरी उपलब्ध गराउँछ।

 शिक्षा  : जापानमा नर्सरीलाई कोदोमोइन भनिन्छ। हरेक वडामा जनघनत्व हेरी सरकारी कोदोमोइन खोलिएका हुन्छन्। कोदोमोइनमा दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिका भर्ना हुन्छन्। गज्जबको कुरा के छ भने आफ्ना छोराछोरीलाई विद्यालयमा भर्ना गराउनु छ भने विद्यालय जानु पर्दैन। सिटी अफिस (वडा कार्यालय) मा गएर निवेदन दिनुपर्छ। सिटी अफिसले नै सम्पूर्ण क्राइटेरिया हेरेर कुन विद्यालयमा भर्ना हुने हो सबै व्यवस्था मिलाउँछ।

नर्सरीमा बालबालिकाले साथीहरूसँग खेल्ने, जापानिज भाषा लेख्ने, पौडी खेल्न, नाच्ने, गीत गाउने, चित्रकला तथा विभिन्न खेल मात्र सिकाइन्छ। उमेर ६ वर्ष भइसकेपछि इलिमेन्टरी स्कुलमा बच्चा जाने गर्छन्। इलिमेन्टरी स्कुलमा बच्चालाई जापानिज भाषा, गणित, विज्ञान, इतिहास, खाना पकाउने, संगीत, खेल, सूचना प्रविधि, अर्थशास्त्र विषयको अध्यापन गराइन्छ। विद्यार्थीलाई कथा, खेल, नाटक आदि माध्यमबाट नैतिकताको ज्ञान दिइन्छ भने विद्यालयमा आफ्नो कक्षाकोठा विद्यार्थी आफैंले सफा गर्नुपर्छ। कोदोमोइन (नर्सरी) तथा इलिमेन्टरी स्कुलमा विद्यार्थीलाई खानाको व्यवस्था गरिएको हुन्छ। छात्राले कपाल निधारभन्दा तलसम्म छाड्न पाइँदैन र मोबाइल पूर्ण प्रतिबन्धित छ। जापानिजहरू गणितमा उत्कृष्ट रहेको देखियो। हरेक टोलका ठूला विद्यार्थीलाई मोनिटर बनाइन्छ। उसले सबै साना विद्यार्थीलाई घरसम्म पुर्‍याउनुपर्ने हुन्छ। विद्यार्थीलाई सानै उमेरदेखि जिम्मेवारी बनाइन्छ।

स्वास्थ्य सेवा  : जापानमा बसोवास गर्ने सबै स्वदेशी तथा विदेशीले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्छ। स्वास्थ्य बिमाबाट ७० प्रतिशत खर्च बेहोरिने छ भने व्यक्तिले ३० प्रतिशत व्यहोर्नुपर्छ। जापानमा कुनै पनि डाक्टरको सल्लाहविना औषधि पसलबाट औषधि किन्न पाउँदैन।

 कृषि  : यहाँ आधुनिक कृषि प्रविधि प्रयोग गरिएको पाइन्छ। विदेशी कृषि उपजमा करिब आठ सय प्रतिशत भन्सार कर लाग्ने छ। यसबाट स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने छ। त्यस्तै जापानभरिको कृषि उत्पादन तथा बजारीकरण गर्नका लागि जापानिज एग्रिकल्चर भन्ने सहकारी संस्था रहेको छ। उत्पादन तथा बजारीकरणसम्बन्धी सम्पूर्ण सप्लाई चेनको व्यवस्थापन यही सहकारीले गर्नुका अलावा किसानका लागि आवश्यक पर्ने बीउवीजन, मल, खाद्य, कृषि विमा तथा सबै सुविधा दिइन्छ। किसानलाई चाहिने हरेक कृषि उपकरण यस सहकारीबाट भाडामा प्रयोग गर्न सकिन्छ। यस सहकारी संस्थाले कृषकहरूलाई प्राविधिक सहयोग तथा ऋणको समेत व्यवस्था गरिदिन्छ। किसानको काम उत्पादन गर्नु मात्र हो। किसानहरूको सहकारी भएकाले लागतबमोजिमको मूल्यांकन पाउने व्यवस्था गरिएको छ।

 समय पालना  : जापानको सबैभन्दा लोभलाग्दो पक्ष भनेको समयको पालना नै हो। हरेक मान्छे कुनै पनि कार्यक्रममा ३० सेकेन्ड पनि ढिलो हुँदैनन्। जापानको कुनै पनि बस तथा ट्रेन १० सेकेन्ड पनि ढिलो हुँदैन। क्याम्पसमा एक सेकेन्ड पनि ढिलो नगरी कक्षा सुरु हुन्छ। टोकियोमा बुलेट ट्रेनको सफाइ सात मिनेटमा गर्नुपर्ने प्रावधान छ। सात मिनेटमा सफा नगरे कर्मचारीले काम छाड्नुपर्ने वा सेवासुविधा कम पाउने व्यवस्था छ। समय पालना नगर्नेलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। जापानमा तोकिएको समयभन्दा पाँच मिनेटअगावै पुग्नुपर्ने मान्यता छ।

निजी सेवाहरू  : निजी कम्पनीबाट सेवा लिनुपरेमा वेबसाइटबाट फर्महरू भरी अर्डर गर्न सकिन्छ। जस्तै– कुनै सिमकार्ड खरिद गर्नुपरेमा वेबसाइटबाट फर्म भरी हुलाकबाट सिमकार्ड लिन सकिन्छ। त्यस्तै जापानमा अनलाइन सपिङको प्रावधान राम्रो छ।

समस्या तथा चुनौनी  : जापानिजहरूको औसत आयु ८५ वर्ष रहेको छ, जुन हङकङपछि जापान नै विश्वमा दोस्रो स्थानमा रहेको छ। जापानको करिब १३ करोड जनसंख्यामध्येमा करिब ३० प्रतिशत मानिस ७० वर्ष उमेर नाघेका छन्। ज्येष्ठ नागरिकको संख्या उच्च हुनु तथा जनसंख्या वृद्धिदर ऋणात्मक हुने नै यहाँको प्रमुख समस्या रहेको छ। आर्थिक विकासका लागि चाहिने मानव संसाधन कमी भएका कारण यहाँ एसियाका विभिन्न मुलुकबाट रोजगारका लागि ल्याउन थालिएको छ। 

याे समाचारआजकाे अन्नपूर्णा पोष्ट मा लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *