के हो कोरोना भाइरस ?

23 असार २०७७ कोरोना भाइरस एउटा आरएनए भाइरसहरूको समूह हो, जसले पक्षी तथा स्तनधारी जीवमा विभिन्न रोग उत्पन्न गराउँछ। मानिसमा कोरोना समूहका भाइरसले सामान्य रुघाखोकीदेखि घातक श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्छ। कोरोनाले गराउने घातक रोगमा सार्स, मर्स र पछिल्लो समय देखा परेको कोभिड- १९ पर्छन्। विभिन्न जीवमा कोरोनाका लक्षण भिन्नभिन्न हुन्छन्। कोरोना भाइरस पहिलोपटक १९३० मा कुखुरामा देखिएको थियो। मानिसमा भने पहिलो कोरोना भाइरस १९६० मा भेटिएको थियो। यो भाइरस देखिएको एक शताब्दी पनि नभएको भए पनि यसको उत्पत्ति भने ८००० बीसीतिर नै भएको अनुमान गरिएको छ।

कोरोना भाइरस (कोभिड- १९) पहिलोपटक चीनको बुहानमा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीमा देखिएको थियो। २०१९ को डिसेम्बरको दोस्रो साता देखा परेको यो भाइरसलाई सार्स कोरोना भाइरस— २ भनेर वैज्ञानिक नाम दिइएको छ। पहिलोपटक देखिएको यो भाइरसले यो लेख तयार गर्दासम्म एक करोड १० लाखभन्दा बढीलाई संक्रमित बनाइसकेको छ भने पाँच लाख २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। सजिलै एकअर्कामा सर्न सक्ने र वृद्ध तथा विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई सजिलै गम्भीर अवस्थामा पुर्‍याइदिन सक्ने क्षमताले यो भाइरसलाई विश्वभर गम्भीर रूपमा लिइएको छ। महामारी गराउने नोभेल कोरोना भाइरसमा सार्स र मर्सपछि यो सार्स-कोभी- २ भाइरस तेस्रोमा पर्छ। देखापरेपछि यो भाइरसमा विभिन्न उत्परिवर्तन आएर अहिले झन् शक्तिशाली हँुदै गएको वैज्ञानिकले अनुमान गरेका छन्।

वैज्ञानिकहरूले धेरैजसो कोरोना भाइरस चमेरामा पाइने आकलन गरेका छन् र यो कोभिड- १९ गराउने भाइरस पनि चमेरोबाटै सरेको अनुमान गरिएको छ। यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाका माध्यमबाट अको व्यक्तिमा सर्छ। यी छिटाबाट भाइरस विभिन्न सतहमा रहेर पनि ती स्रोतबाट एकअर्कामा सर्न सक्छ। जनावरबाट भने मानिसमा सर्ने-नसर्ने यकिन केही प्रमाण फेला परेको छैन।

 लक्षण के-के हुन्छन् ?

अधिकांश संक्रमित व्यक्तिमा सामान्य रुघाखोकी, शारीरिक थकान तथा ज्वरो देखिन्छ र कुनै औषधि उपचारविना नै आफैं निको हुन्छ। संक्रमण भएको दुई दिनदेखि १४ दिनसम्ममा सामान्यतया विभिन्न लक्षण देखिन सक्छ र यो अवधिलाई इन्कुबेसन समय भनिन्छ। यो समयमा देखा पर्ने लक्षणमा काम ज्वरो, सास फेर्न गाह्रो हुने, थकान, मांसपेसी दुख्ने, गल्ने, टाउको दुख्ने, जिब्रोको स्वाद लिने शक्ति र नाकको सुँघ्ने शक्ति कम हुने, नाक बन्द हुने, वाकवाक लाग्ने, घाँटी खसखस गर्ने, बान्ता आउने, पखाला लाग्ने आदि पर्छन्। वृद्ध तथा पुराना रोग जस्तै- चिनी रोग, मुटुसम्बन्धी रोग, फोक्सोको रोग भएका बिरामीलाई यो भाइरसले जटिल समस्या निम्त्याउन सक्छ। निमोनिया, तीव्र श्वासप्रश्वास प्रणाली फेल हुले, एआरईएसजस्ता जटिलता केही बिरामीमा आउन सक्छन्। जसका लागि आस्पताल सेवा अत्यावश्यक हुन्छ। आईसीयूअन्तर्गत राखी भेन्टिलेटरसमेत प्रयोग गर्नुपर्ने हुन सक्छ। यी जटिलता देखा पर्नेमध्ये २५-४५ प्रतिशतले ज्यान गुमाउन सक्नेसमेत तथ्यांकले देखाएको छ। तसर्थ सीडीसीले श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, ओठ नीलो हुने तथा कोरोनाका अन्य शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

कोभिड- १९ को जाँच गर्न कोरोनाविरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीको माध्यमबाट गरिन्छ। यसका लागि धेरै जाँच छन्। नेपालमा भने पीसीआर अथवा आरडीटीबाट कोरोना जाँच गर्न सकिन्छ। पीसीआर परीक्षणका लागि घाँटीको पछिल्लो भागबाट स्वाब लिएर जाँच गरिन्छ। आरडीटीमा कुनै भाइरसले उत्पादन गर्ने एन्टीजेनको मात्रा जाँच गरिन्छ। लक्षण दाखिएका बिरामी, पोजिटिभ केसको सम्पर्कमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा राखिएका बिरामीमा पीसीआर जाँच गरिन्छ। सम्भावित कोरोनाका बिरामीको सेवामा अग्रपंक्तिमा कार्यरत सबै स्वास्थ्यकर्मीमा आरडीटी जाँच गरिन्छ र पोजिटिभ आएमा पीसीआर गरिन्छ। हालसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, विभिन्न प्रादेशिक अस्पताल र सरकारले तोकेका सरकारी अस्पतालमा यी जाँचको व्यवस्था गरिएको छ। पीसीआर पोजिटिभ देखिएका तर सामान्य लक्षण भएका बिरामीलाई देशभरका विभिन्न क्वारेन्टाइनमा राखिन्छ। साथै संवेदनशील बिरामीलाई भने आइसोलेसन वार्डमा राखी आवश्यक उपचार गरिन्छ। पोजिटिभ देखिएका बिरामीको तीनवटा जाँच नेगेटिभ आएपछि रोगमुक्त घोषणा गरी डिस्चार्ज गरिन्छ।

 उपचार के छ त ?

कोरोना भाइरसको रोकथामका लागि एफडीए प्रमाणित कुनै औषधि छैन। तर हरेक दिन विश्वभर विभिन्न संस्थाले औषधि तथा खोप पत्ता लगाउन नयाँनयाँ अध्ययन-अनुसन्धान गरिरहेका छन्। यस भाइरसको निवारणका लागि विभिन्न एन्टी-भाइरल औषधिहरूको प्रयोगको अध्ययनअन्तर्गत क्लोरोक्विन तथा हाइड्रोक्सिन-क्लोरोक्विन, रेम्डेसिभर, आइभरमेक्टिन आदिको अध्ययनमा सकारात्मक नतिजा देखिएको छ। अध्ययनअनुसार मलेरियामा प्रयोग गरिने क्लोरोक्विन औषधिले कोरोना लाग्न नदिने तथा रेम्डेसिभर नामक औषधिले भाइरसको प्रजननमा वाधा पुर्‍याएर रोग निवारण गर्न सहयोग पुर्‍याउने देखिएको छ। त्यसैगरी एचआईभीमा प्रयोग गरिने लोपोनाभिर र रिटोनाभिरको मि श्रणले भाइरसको जनशक्ति कम गरी लक्षणमा सुधार ल्याउन सक्ने देखिएको छ। साथै भाइरसको प्रजननका लागि चाहिने आरएनएलाई नष्ट गर्न सक्ने क्रिस्पर प्रणालीसम्बन्धी पनि खोज भइरहेको छ। सामान्य लक्षण जस्तै रुघाखोकी लागेमा स्वास्थ्य संस्था गइरहनु पर्दैन र घरेलु उपचार पद्धति नै प्रभावकारी हुन्छ। श्वासप्रश्वाससम्बन्धी समस्या, निमोनिया, पुराने रोग भएका बिरामीमा लक्षण देखिएमा भने चिकित्सकको सल्लाह लिनु नै उचित हुन्छ। जटिल समस्या जस्तै- एआरडीएस, निमोनिया, तीव्र मिर्गौैला क्षति आदि देखिएमा अस्पतालमै भर्ना भई लक्षण सहयोगी उपचार गर्नुपर्ने हुन्छ।

जोखिमबाट बच्न के गर्ने ?

जोखिम निवारण गर्ने नै कोरोनाविरुद्ध हतियार हुन सक्छ। यसका लागि हामीले डब्लूएचओले बताएका प्रमुख नियमलाई पालन गर्नुपर्ने हुन्छ। सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य कामका लागि बाहिर नजाने, कम्तीमा पनि दुई मिटरको दूरी बनाइराख्ने, बाहिर तथा जोखिमयुक्त स्थानमा जाँदा मास्कको प्रयोग गर्ने, कम्तीमा ६० प्रतिशत अल्कोहल मि िश्रत सेनिटाइजर प्रयोग गरिरहने, हात धोइरहने, आफूले प्रयोग गर्ने मोबाइल, पर्स, कलम आदि सामग्रीलाई पनि नियमित सेनिटाइज गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुइना या रुमालले नाक र मुख छोप्ने तथा शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरेमा कोरोना लाग्नबाट बच्न सकिन्छ। कोरोना लागिहालेमा पनि शीघ्र स्वास्थ्य सेवा प्राप्त गरी स्वस्थ रहन सकिन्छ। तथ्यांकअनुसार तीन प्रतिशतजति बिरामीको मात्र मृत्युदर रहेको छ र स्वस्थ व्यक्तिमा अझै कम छ। तसर्थ कोरोना लागिहाले पनि आत्तिहाल्नुपर्ने हँुदैन। त्यसैले यी नियम पालन गरेर हामीले कोरोनाको भार कम गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *