२२ असार २०७७ ११:४२:००

जनकपुरको राम चोकमा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै प्रहरी ।

जनकपुरधाम : तपाईंको मास्क खोइ ? सोमबार जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाएरै घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर सोधपुछ गर्दै थिए। कतिले गोजीमा मास्क राखेर हिँडेका थिए भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए । तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छोपी हिँडे । 
मास्कनै नलगाएर अटेर गर्ने डेढ सय भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर एक सय रुपैयाँ जरिवाना तिर्न लगाइयो ।  कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका उपायप्रति जनस्तरमा हेलचक्राइ बढ्दै गएको हो । लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले बताए ।

‘रोग निवारण ऐन २०३० अनुरुप हामीले महामारीबाट जोगिन जनचेतना मुलक अभियान अघि बढाएका छौं, ‘उपरीक्षक बस्नेतले भने,’ मास्क लगाउन र सामाजिक दुरी कायम गराउन हामी निरन्तर माइकिङ गरिरहेका छौं । त्यसैगरी अहिले मास्क निगरानी पनि बढाएका छौं ।

याे समाचारआजकाे अन्नपूर्णा पोस्ट मा मनिका झा लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *