2020-06-28-17392

काठमाडौँ, असार १४ गते । मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो रोकथाम गर्न यस वर्ष पनि गतिलो पहल हुन सकेको छैन ।
अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको बेला नारायणगढ मुग्लिनसँगै पाल्पाकै सडकमा पहिरो खस्यो भने स्वाब सङ्कलन र परीक्षणमै असर पर्ने अवस्था छ । यसले जनस्वास्थ्यमै खेलवाड हुनसक्ने भएकाले पहिरो रोकथामको पूर्वतयारी बलियो हुनुपर्नेमा विज्ञको जोड छ । अझ बाढी र मौसमको पूर्वानुमान सुचारु रहे पनि पहिरोको पूर्वानुमान र पूर्वसूचना दिन नसक्दा बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् ।
विकासको गलत अवधारणा र सस्तो लोकप्रियता कमाउन पहाड छियाछिया पार्नु नै पछिल्लो समय पहिरो धेरै जानुको मुख्य कारक रहेको भूगर्भविद् तथा विपद्विज्ञ कृष्ण देवकोटा बताउनुहुन्छ । उहाँले यो गाउँमा मैले सडक लिएर आएँ भनेर मख्ख पार्दा उनै गाउँका बासिन्दाको त्यही खनेको पहाडमा परेर ज्यान गइरहेको अवस्था छ भन्नुभयो । अझ पहिरो रोकथाममा हुने गरेका थामथुमे प्रवृत्तिले त्यसको दिगो समाधान नदिने तर्क उहाँ गर्नुहुन्छ । नारायणगढ मुग्लिन सडकका पहिरोका बारेमा गहन अध्ययन गर्नुभएका उहाँले हालै त्यहाँका केही डाँडामा तारजालीले छेक्न गरिएको प्रयासलाई उहाँ सही मान्नुहुन्न ।
विगतमा निकै दुःख दिएको नारायणगढ मुग्लिन सडक खण्डकै कृष्णभीरको पहिरो समाधान गर्न उहाँले निकै कसरत गर्नुप¥यो ।
तारजाली, सिमेन्ट, रोडा र कुनै पनि छेकबारले थेग्न नसकेको त्यो पहिरो प्रकृतिमैत्री रूपमा समाधान गरिएपछि १२ वर्षदेखि त्यति दुःख नदिएको अवस्था छ । त्यसताका धेरै नमुना अध्ययन गरेर समाधान निकालिएको थियो । अहिले पनि मर्मत सम्भारको अभावमा धेरथोर माटो बग्न थालेको छ ।
देवकोटाका अनुसार पछिल्लो समय चुरे पर्वतका पहाड सक्रिय रहेको अवस्था छ । पहाड बन्ने प्रक्रियाको चरणमै चुरे रहेको छ । नेपालका अन्यत्रभन्दा तुलनात्मक रूपमा कमजोर र कान्छो पहाड मानिन्छ । त्यस पहाडको मुनितिर जथाभावी ढुङ्गामाटो र वन सम्पदाको दोहन हुँदा बनिनसकेको पहाड पहिरो बनेर खसिरहेको छ । देवकोटाले नेपालको मात्र होइन, हिन्दकुश हिमालयको रेन्ज, पामिरको नटदेखि म्यान्मारसम्म पुग्ने त्यो हिमशृङ्खला नै भौगर्भिक रूपमा तुलनात्मक रूपमा कमजोर मानिन्छ भनेर थप्नुभयो ।
नेपालमा विपद्मैत्री विकासको मोडल नभएकाले पहाड पखेरा ध्वस्त भइरहेका छन् । कम अभ्यास रहेको विपद्मैत्री विकासको अवधारणा राज्यका हरेक संरचनामा प्रयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । हाम्रो जस्तै भूबनोट भएको जापान त्यहाँ पहिरो जाँदैन । बारम्बार भुइँचालोले खुकुलो बनाए पनि निश्चित ढाँचामा रहेर जापानले बिना पहिरो विकास गरिरहेको देवकोटाले बताउनुभयो ।
नेपालमा पहिरोको पूर्वानुमानको विषयमा कसैले परियोजनाका रूपमा आएको बाहेक पहिरोको पूर्वानुमान भएको छैन । अलिक बढी लगानी र अध्ययन गरे पहिरोको पूर्वानुमान गर्न सकिने औँल्याइएको छ । भौगोलिक विविधतापूर्ण नेपालको हरेक पहाडको फरक अध्ययन गर्नु आवश्यक छ । जापान, स्विजरल्यान्ड, दक्षिण कोरिया, नर्वे, अमेरिका, चीन लगायतका देशमा पहिरोको पूर्वानुमान गरिन्छ ।  

याे समाचार आजकाे गाेरखापत्र अनलाइन मा चाँदनी हमाल लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *