सुत्केरी महिला अस्पताल आए सेवाबाट विमुख गर्न पाइन्न

डा.संगीता काैशल मिश्र

असार १२, २०७७ शुक्रबार

अहिलेको अवस्था असामान्य छ । माघदेखि अहिलेसम्म कोभिड बिरुद्ध लडिरहेका छौ । संस्थागत प्रसूति घटेको र मातृ मृत्युदर बढेका कुरा आएको छ । २०१६ तथ्याङ्कअनुसार ५८ प्रतिशत संस्थागत प्रसूति थियो । बन्दाबन्दी, यातायातको कमी, एम्बुलेन्स समयमा नपाउने, स्वास्थ्यकर्मीमा समेत अन्यौलताले संस्थागत प्रसूति गराउने महिला घटेको देखिन्छ । तर यसलाई विस्तारै सहज बनाउने प्रयास गरिरहेका छौ । यसै सन्दर्भमा गर्भवती महिलाले पूर्व प्रसूति मै आफ्नो स्वास्थ्य सुरक्षा कसरी गर्ने ? कोभिड–१९ सम्बन्धि केके कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा जानकारी राख्न चाहन्छु । गर्भवती महिलाले ‘एन्टिनेटल’ (जन्मपूर्व) चेकअप गर्नैपर्छ । कम्तिमा पनि चारवटा ‘एन्टिनेटल’ परीक्षण गराउनै पर्छ । तीन महिना, छ महिना, आठ महिना र नौ महिनामा । त्यसबाहेक खानापिनामा ध्यान दिनुपर्ने हुन्छ । प्रोटिनयुक्त खाना र झोलिलो पदार्थ खानुपर्छ । चिकित्सकको सल्लाहअनुसार पोलिक एसिड, आइरन, क्याल्सियम, दूध सेवन गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा सरसफाईमा ध्यान दिनुपर्छ । यसको लागि साबुन पानीले मिचिमिचि हात धुने । हात धुन नमिले स्यानिटाइजरको प्रयोग गर्ने । हाच्छ्यू गर्दा, खोक्दा हातले मुखलाई छोप्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती महिलालाई इन्फेक्सनको सम्भावना हुने भएकाले बाहिर निस्कदा भौतिक दूरी (दुई मिटर) अनिवार्य कायम गर्नुपर्छ ।
कोभिडसँग डराएर जाँच गराउन नजाने भन्ने हुँदैन । कोभिडसँग डराउने होइन तर सतर्कचाहिँ हुनुपर्छ ।
अस्पताल कतिखेर जाने ?
यो नौ महिनाको अवधिमा बच्चा कम चले अथवा नचले, पेट दुखे वा रक्तश्राव वा योनीबाट पानी बगेको खण्डमा, ब्लडप्रेसर बढेमा, आँखा धमिलो देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । ज्वरो १००.४ भन्दा बढी आएमा र स्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्ने÷लैजानुपर्ने हुन्छ ।
अर्को कुरा, स्वास्थ्य संस्थामा गएर अनिवार्य प्रसूति गराउनु पर्छ । घरमा प्रसूति गराउँदा आमा र शिशुमा कतिपय स्वास्थ्य समस्या आउँछ, जुन अस्पतालसम्म पुर्याउँदा आमाको मृत्यु हुने सम्भावना हुन्छ । त्यसैले अस्पतालमै सुरक्षित तरिकाले प्रसूति गराउनुपर्छ ।
सुत्केरी अवस्थाको स्याहार कसरी गर्ने ?
खानपिनको ध्यान दिनुपर्ने त छदैछ । त्यसबाहेक प्रसूतिपछि आमा र शिशुको स्याहारमा त्यति ध्यान दिएको पाइदैन । प्रसूतिपछिको स्याहारमा ध्यान दिन निकै आवश्यक छ । धेरै खालका समस्या आउन सक्छ । पहिलो, तेस्रो, सातौ र २८ औ दिनमा नजिकको स्वास्थ्य संस्थामा टेलिफोनको माध्यमबाट पनि कुरा गरेर समस्याको समाधान गर्न सकिन्छ । ब्रेष्ट फिडिङ गराउने कि नगराउने भन्नेमा अन्यौलता छ । कोभिड भएको महिला भए पनि स्तनपानमा कुनै समस्या देखिएको छैन । स्तनपान गराउँदा कोभिड सर्दैन भन्ने पुष्टि भइनै सकेको छ । स्तनपान गराउँदा कोभिड सर्दैन । कोभिड सङ्क्रमित महिलाले पनि स्तनपान गराउन सक्नहुन्छ । कोभिड नभएको महिलाले त बच्चालाई अनिवार्य रुपमा छातीमा टाँसेर राख्ने, कङ्गारु मदर केयर गर्ने र स्तनपान गराउनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशूको गाइड लाइन निकालेको छ । स्थानीय हेल्थपोस्ट जिल्ला अस्पताललगायतमा कुनकुन प्रकारको सेवा दिने भन्नेबारे गाइड लाइनमा छ । सुत्केरी महिला अस्पतालमा आएमा कुनै पनि हालतमा सेवाबाट विमुख गर्न पाइने छैन । एम्बुलेन्सलाई सरकारले कहिँ पनि रोकेको छैन । कुनै पनि एम्बुलेन्स प्रयोग गर्दा हुन्छ । काठमाडौँमा १०२ डायल गरेर सेवा लिन सकिन्छ । बाहिर १००मा डायल गरेर एम्बुलेन्स सेवा लिन सकिन्छ ।
प्रसूति अस्पतालको सेवा
अस्पतालले सबैभन्दा पहिला कोभिड वा ननकोभिड गर्भवती भनेर पहिचान गर्छ । शंका छ वा पोजेटिभ छ भने छुट्टै ठाउँमा सेवा दिएका छौ । वेभसाइडमा हेल्प लाइन पनि छ त्यहाँमा फोनबाटै समस्या सोध्न सक्नुहुन्छ । नर्समल सेवा, ओपीडी, अपरेशन, फ्यामिली प्लानिङको सेवा नियमित चलिरहेको छ । गाइनोको सेवा पनि सुरु गर्न गएका छौ ।

संभार : गाेरखापत्र अनलाइन प्रस्तुतिः दीपक श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *