१० असार २०७७ बुधबार

गृह मन्त्रालयले उपत्यकाका घरबेटीलाई अनिवार्य पिसिआर परीक्षणका लागि डेरावाललाई दबाब नदिन निर्देशन दिएको छ। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पे्रस ब्रिफिङको क्रममा सो निर्देशन दिएको हो। उपत्यकाका घरबेटीले डेरावालालाई कोरोना भए÷नभएको प्रमाणका लागि पिसिआर परीक्षण गर्न दबाब दिँदै आएका छन्।  

घरबेटीको दबाबका कारण अहिले पिसिआर परीक्षणका लागि शुक्रराज सरुवा रोग अस्पतालमा भीड लाग्ने गरेको छ। बुधवार पनि ९ सय पिसिआर परीक्षणका लागि पुगेको शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए। उपत्यकामा लकडाउन  खुलेपछि यो  अस्पतालमा दैनिक ८ देखि ११ सय जना परीक्षणको लागि पुगेका छन्।  

अस्पतालमा आउनेको चाप र पिसिआरको माग व्यवस्थापन गर्न नसकेपछि अस्पतालले मंगलबार गृह मन्त्रालयलाई समस्या जानकारी गराई घरबेटी तथा प्रहरी प्रशासनलाई सूचना सम्पे्रषण गर्न  अनुरोध गरेको थियो। सोहीअनुसार बुधाबार नै गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिई घरबेटीले उपत्यका बाहिरबाट आउनेको हकमा १५ दिन होम क्वारेन्टिनमा राखेपछि मात्र अस्पताल पठाउने र चिकित्सकको सल्लाहमा मात्र पिसिआर परीक्षण गर्न निर्देशन दिनेछ।  

‘चिकित्सकले व्यक्तिको लक्षण तथा जोखिम स्थिति हेरेर मात्र पिसिआर परीक्षणको लागि सिफारिस गर्ने सरकारको मापदण्ड छ। आएजति सबैले पिसिआर परीक्षणको माग गर्छन्,’ निर्देशक राजभण्डारीले भने। सबैको दबाबमा परेर परीक्षण गर्दा वास्तविक बिरामी परीक्षणबाट बञ्चित हुने सम्भावना रहेको डा. भण्डारीले बताए।

घरबेटीबाहेक प्रहरी, अदालत तथा विभिन्न दलका नेताहरूसमेत पिसिआर अनिवार्य गनै दबाब दिने समूह रहेको अस्पतालले जनाएको छ। अदालतले बयान दिन बोलाउने प्रहरी हिरासतमा रहेका र कर्मचारीलाई पिसिआर परीक्षणका लागि माग गर्ने गरेको छ भने उपत्यकाबाहिर गएका सांसद तथा नेताहरू पनि पिसिआर परीक्षण माग गर्ने समूहमा पर्छन्। अस्पतालका अनुसार परीक्षण भएका मध्येमा १० प्रतिशत दबाबका परीक्षण छन्।

याे समाचार आजकाे नागरिक दैनिक मा लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *