2020-06-23-17041

बुटवल, असार ९ गते । वैशाख २५ सम्म शान्त रहेको कपिलवस्तुमा त्यसयता कोरोना भाइरस रोगको सङ्क्रमणले एकाएक रौद्र रूप लियो । वैशाख २२ देखि व्यवस्थापनमै चुनौती हुने गरी भारतबाट नेपाल भित्रिने क्रम तीव्र भयो । हेर्दाहेर्दै कपिलवस्तु कोरोनाको ‘हट स्पट’जस्तै हुन थाल्यो । सङ्क्रमितको सङ्ख्या निरन्तर बढेर ७०३ पुग्यो ।
नियन्त्रणबाहिर जानै थालेको कपिलवस्तु अहिले भने नियन्त्रणमा आएको छ । कोरोनामाथि विजय हासिल गर्दै उत्साहको सञ्चार हुन थालेको छ । सङ्क्रमितमध्ये आधाभन्दा धेरै ४८३ जना निको भएर घर फर्किसकेका छन् । अरू ठूलो सङ्ख्याका सङ्क्रमित पनि निको भएर घर फर्किने प्रतीक्षामा छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल भन्नुहुन्छ, “यो जिल्लाले कोरोनामाथि छिट्टै विजय हासिल गरिरहेको छ ।” कपिलवस्तुले छोटो समयमै कोरोनामाथि विजय हासिल गर्नुका प्रमुख कारण हुन्– क्वारेन्टाइन र आइसोलेसनको पूर्वतयारी, शीघ्र परीक्षण, सङ्क्रमितको आहारबिहारमा सजगता आदि ।
प्रजिअ पौडेलका भनाइमा सङ्क्रमणको कुनै सङ्केत नदेखिँदै सबै स्थानीय तहमा क्वारेन्टाइन बनिसकेका थिए । सुरुमा सङ्क्रमण देखिएकालाई बुटवल र दाङमा पहिल्यै बनेका कोरोना विशेष अस्पतालमा पठाइयो । पछि भने स्थानीय तहमै बनाइएका आइसोलेसनमा राखेर सावधानी अपनाइयो । प्रदेश ५ को अर्को ठूलो ‘हट स्पट’ बनेको बाँकेको नरैनापुरमा ११८ जनामा एकाएक सङ्क्रमण फैलिएको र एक जनाको मृत्यु भयो । अन्य सबै सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । पहिलेको ‘हट स्पट’ नरैनापुर अहिले कोरोनामुक्त भएको छ ।
जेठको पहिलो सातादेखि फैलिएको सङ्क्रमण एक महिनाभित्रै नियन्त्रणमा आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका भनाइमा उच्च मनोबल र सबै पक्षको सक्रियताले सङ्क्रमण शून्यमा झार्न सकिएको हो । सङ्क्रमण देखिनासाथ यहाँ निषेधित क्षेत्र घोषणा, सेनाको सक्रियतादेखि पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र सङ्क्रमितको उपचारमा तीव्रता दिइएको हो ।
कोरोना उच्च जोखिमको जिल्ला बाँकेमा नरैनापुरसँगै कोरोनामाथि विजय हासिलको शृङ्खला निरन्तर बढिरहेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ३४२ जनामा सङ्क्रमण फैलिएको बाँकेमा १९५ जना कोरोनालाई जितेर घर फर्किसक्नुभएको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर चौधरीका अनुसार दुई हजार ४३७ सङ्क्रमितमध्ये ९३३ जना निको भएर घर फर्किसकेका छन् । निको भएर घर फर्किने दर ४० प्रतिशत छ । आइसोलेसनको बसाइ अवधि पुगेका र अन्तिम रिपोर्ट कुरेका अरू धेरै जना पनि घर फर्किने तयारीमा हुनुहुन्छ । यस प्रदेशमा सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । यद्यपि थप १४५ जनामा सङ्क्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रहरूको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितको उच्च मनोबल, सीमा व्यवस्थापन र लकडाउनको पालना जस्ता कारणले ‘हट स्पट’सँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको छ । 

याे समाचार आजका्र गाेरखापत्र अनलाइनमा दीपक ज्ञवाली लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *