काठमाडौं प्रवेशमा कडाइ गरेको भन्दै प्रदेश १ संसद बैठक अवरोध
सोमबारको बैठकमा आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै कांग्रेश सांसद । तस्बिर : रविन भट्टराई।

 ०८ असार २०७७

विराटनगर : नेपाल सरकारले अन्य प्रदेशबाट  काठमाडौं प्रवेशमा कडाइ गरेको विषयमा प्रदेश सरकार चुप बसेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरोध गरेको छ । सोमबार बसेको प्रदेश १ प्रदेश सभा बैठक सुरु हुनसाथ कांग्रेस सांसदले आफ्नो स्थानबाट उठेर बैठक अवरोध गरेका हुन् ।

अवरोधपछि सभामुख प्रदीपकुमार भण्डारीले दलका तर्फबाट एकजनालाई बोल्न दिएका थिए । सो समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले संघीयताका लागि प्रदेश सरकार लड्न नसक्दा प्रदेशका नागरिकले सास्ति भोग्नु परेको बताए । 

केन्द्र सरकारले काठमाडौं प्रवेशमा अन्य प्रदेशका नागरिकलाई कडाइ गर्दा र काठमाडौंबाट बाहिरीनेलाई सहजै छाडिदिंदासमेत प्रदेश सरकार चुप बस्नु लज्जास्पद भएको भन्दै प्रमुख सचेतक कार्कीले मुख्यमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने बताए । 

‘प्रदेश सरकार निरिह बनेको छ, आफ्ना नागरिक काठमाडौंको नाकामा पुगेर पनि अपहेलित हँदै फर्कंदा प्रदेश सरकार बोल्दैन,’ प्रमुख सचेतक कार्कीले भने, ‘सिडिओभन्दा माथिल्लो तहको मन्त्रालयको सचिवले अहिले पनि सिडिओबाट पास लिएर हिंड्नुपर्छ, के यही हो  संघियता ?’

कार्कीले केन्द्र सरकारले काठमाडौंबाहेक अन्य जिल्लाको नागरिकलाई आफ्ना नागरिक देख्नै छाडेको आरोप लगाउँदै मुख्यमन्त्री पनि चुप बस्दा यसको पीडामा नागरिक पेलिनुपरेको बताए । 

उनले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणसँगै प्रदेशको नामाकरण गर्ने विषयमा उदाशीन बन्दै गरेको बताए । ‘संक्रमित बढी भएको क्षेत्रका नागरिकका पीसीआर परीक्षण गरेको मुख्यमन्त्री बताउँछन् र आरडीटी मात्रै परीक्षण गरिन्छ, महामारी नियन्त्रणमा प्रदेश सरकार कमजोर बन्यो,’ प्रमुख सचेतक कार्कीले भने, ‘सबै विषयको जवाफ हामीलाई चाहियो ।’

प्रदेश १ को नामाकरणका विषयमा प्रदेश सरकारले नै अलमल गरेका आरोप लगाउँदै उनले नामाकरण कहिले गर्ने सदनमा उपस्थित भएर चाँडो जवाफ दिन मुख्यमन्त्रीलाई आग्रह गरे । ‘नामाकरणमा अलमल, महामारी नियन्त्रणमा कमजोरी, बेरोजगारीको बेवास्था प्रदेश सरकारको मुख्य काम हो ?’, कार्कीले भने, ‘सबैको जवाफ सदनमा चाहियो ।’

प्रदेशसभा बैठकको शुन्य समयमा सांसदले उठाएको प्रश्न र समस्याको जवाफ सरकारले नदिएको बताउँदै कांग्रेश सांसदले यस्तै भए प्रदेशसभा बैठक बस्नुको औचित्य नै नरहेको बताए । 

सोमबार दुईपटकसम्म बैठक अवरोध गरेपछि सभामुख भण्डारीले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थिगित गरेका छन् ।  

याे समाचार आजकाे अन्नपूर्णा पोष्ट मा लेखेकाे छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *