बेइजिङ्गमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ

काठमाडौं, असार २ गते । चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
बीबीसीका अनुसार करीब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा पछिल्लोपटक सङ्क्रमण स्थानीय बजारबाट सम्बन्धित रहेको पाइएपछि लकडाउन कठोरतापूर्बक लागू गरिएको छ । विश्व स्वास्थ्य संगठनका आपातकाल कार्यक्रमका प्रमुख माइक रयानले नयाँ ‘क्लष्टर’ सधै सरोकारको विषय रहने हुनाले शिघ्र प्रतिक्रिया र सतर्कता आवश्यक हुन जाने बताउनुभयो ।
कोरोनाभाइरसका नयाँ सङ्क्रमितको प्रकोप बेइजिङ्गको सिन्फाडीस्थित एक थोक बजारबाट आएको हुन सक्ने बताइएको छ । स्थानीय केही अधिकारीसँगै उक्त बजारको महाप्रबन्धकलाई बर्खास्त गरिएको छ । चिनियाँ रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका प्रमुखले चीनभरि यसअघि फैलिएको भाइरसको आनुवाशिंक अनुक्रम नयाँको भन्दा फरक रहेको जानकारी दिनुभएको छ । विश्व स्वास्थ्य संगठनले उक्त भाइरसको आनुवाशिंक अनुक्रमबारे थप खुलाउन आग्रह गरेको छ ।
शनिबारदेखि नै सिन्फाडी बजार पूर्णरुपमा बन्द गरिएको छ । सोमबारसम्म बेइजिङ्गको दुई सय स्थलमा सङ्क्रमण परीक्षण कार्य सुरु गरिएको छ । मई महिनाको अन्त्यदेखि उक्त बजारमा किनमेल गरेका दुई लाख ब्यक्तिको पहिचान गरी परीक्षण गरिएको छ । स्वयंसेवी र सुरक्षाकर्मीले परीक्षणस्थल बनाएर स्थानीयको तापक्रम मापन गरेको छ ।
यसअघि बेइजिङ्गको पाँच स्थलमा गरिएको लकडाउनलाई बढाएर २१ टोलमा पुर्याइएको छ । अधिकांश विद्यालय र इन्डोर खेलकूदका गतिबिधिमा समेत रोक लगाइएको छ । बेइजिङ्ग सामान्य जिवनमा फर्किरहँदा भाइरसको दोस्रो प्रकोपले फेरी जनजिवन असहज बनाएको छ । चीनमा कोरोनाभाइरस प्रकोपको रुप लिए यता दैनिक सङ्क्रमित हुनेको संख्या नाटकीय रुपमा कमी आएको थियो । कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बनेको यूरोपेली राष्ट्रहरु जर्मनी, बेल्जियम, क्रोएशिया र स्वीटजरल्याण्ड लगायतले सीमा खोल्ने निर्णय गरिसकेको छ ।

याे समाचार आजकाे गोरखापत्र अनलाइन मा लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *