पशुपति सरसफाइका लागि भारतले दियो ३ करोड ७२ लाख

काठमाडाै – सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी वा पहिले एसडिपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारी अन्तर्गत अनुदान दिइनेछ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपतिनाथ मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले ३ करोड ७२ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ । सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।

पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिसर हो र बागमती नदीको दुवैतिर फैलिएको छ जहाँ हरेक दिन हजारौंको संख्यामा भक्तजनहरु आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *