भारतीय राजदूतावास तथा हिन्दीविभागद्वारा विश्व हिन्दी दिवस मनाइयो

काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा पौष २५ गते होटल याक एण्ड यतीमा विश्व हिन्दी दिवस मनायो ।
उक्त समारोहमा नेपाल सरकारकोमाननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री हृदयेश त्रिपाठीले प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमको शोभा बढाउनु भएको थियो । सो अवसरमा कार्यभार राजदूत डा. अजय कुमारले भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाउनु भएको थियो ।
उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरियो । वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरियो । ती पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् । साथै हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि श्री माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’को पनि लोकार्पण गरियो । यी कथाहरु बाह्रखरी मेडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए ।
सो समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यात हिन्दी कविहरुका रचनाहरुको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २०० भन्दा बढी विशिष्ट साहित्यिक महानुभावहरुले सो कार्यक्रममा सहभागीता जनाएका कुरा दूतावासद्वारा जारी विज्ञ्प्तिमा उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *