सौन्दर्यभित्र सिर्जना र संस्कृति
शनिवार |

 

2019-10-26-3279

 शान्ति लामा

फूल, प्रकृतिको एक उपहार हो ? वा सृष्टिको गर्भ हो ? वा सौन्दर्यको परिचायक हो ?
यी सबै प्रश्नभन्दा माथि, नेपालीका लागि फूल संस्कृति र जीवनपद्धति हो । यसको प्रमाण विशेष गरी तिहारमा सर्वत्र छचल्किन्छ ।
जतिबेला शरदको शीतल हावाले हाम्रा गाउँसहरलाई छुन थाल्छ, त्यति नै बेला बोटहरूमा मखमलीका दानादाना लहराउन थाल्छ । हाम्रा आँगनहरूमा पहेँलपुर सयपत्री बयेली खेल्न थाल्छ । सेता, पहेँला सयपत्रीको सुवासले गाउँ मगमगाउँछ ।
यस्तो बेला कसको मन केटाकेटीको झैँ चञ्चल हुँदैन र ? यस्तै हुन्छ, भक्तपुरवासी संस्कृतिविद तेजेश्वरबाबु ग्वंगःको मन पनि । सयपत्रीको पत्रपत्रमा भुन्भुनाउँदै भमरा आउँदा सँगसँगै उहाँको मन पनि नाच्न थाल्छ । यसपालि उहाँको घरको कौसीमा सयपत्री फुलेको छैन । पानी चुहिएकाले कौसीबाट सयपत्रीलगायत फूलका गमलाहरू फाल्नुपर्दा उहाँको मन कटक्क दुखेको रहेछ । उहाँ अहिले त्यसलाई खुब ‘मिस’ गर्नुहुन्छ ।

प्रेरणा
तिहारको फूलको सौन्दर्य र सुवासले सधैँ नयाँ सिर्जनाका लागि प्रेरित गर्ने गरेको कुरा गर्दैगर्दा यी ८५ वर्षीय संस्कृतिविद्को अनुहार यसरी खुलेको थियो, मानौँ एक निश्चल बालक सयपत्रीसँगै हाँसिरहेको छ ।
‘त्यसो त फूल जवानीको पनि त प्रतीक हो नि ! गुलाब देख्दा मेरो मनमा मस्त जवानीको राताराता गाला, स्त्रीको लालीमय ओठ झलक्क झल्को आउँछ,’ चस्माभित्र आँखा चिम्सा पारेर हाँस्दै मखलेल जवानीको याद गर्न पछि पर्नुहुन्न उहाँ, ‘साँच्चै जवानीको प्रेमको याद आउँछ ।’ ठीक त्यस्तै, तिहारमा सयपत्रीको बास्ना चल्दा मनले उहाँलाई सुन्दर अतीतमा पु¥याउँदोरहेछ ।
उहिले सयपत्री र गोदावरीको बास्नाले नै तिहार आएको सन्देश दिन्थ्यो, हिजोआज त्यो बास्नाले मानिसलाई छुन छोडेको हो कि ? सोच्दै अलिकति ‘नोस्टाल्जिक’ भइदिनुभयो ।
संस्कृतिविद ग्वंगः जस्तै, कवि, महाकविहरूका पनि फूलको सौन्दर्यबाट प्रेरित भएका छन् । फूलको सौन्दर्य र सुवासले मखलेल हुँदै सिर्जना गरिएका कालजयी सिर्जनाले सदैव हाम्रो मनलाई आह्लादित बनाएका छन् । यसरी कवि, लेखक, कलाकार, चिन्तक, दार्शनिक, राजनीतिज्ञ, किसान, श्रमिक, बालक, जवान, पाका, धनी, गरिब मखमलीसँगै नमुस्कुराउने मन कसको होला र ?

संस्कृति
तिहार नेपालमा मनाइने बहुआयामिक पर्व हो । पशुपक्षी, मानवदेखि देवी देवतासम्मको पूजा गरिने यो पर्व वास्तवमै अद्भुत छ । यी सबै पूजामा पनि फूलको महŒव विशेष हुँदै आएको छ ।
विश्वका हरेक संस्कृतिमा फूलको प्रयोग हुन्छ, तर मखमली, सयपत्री र गोदावरी फूलको प्रयोग हुने विशिष्ट पर्व हो तिहार । त्यसैले यी फूलहरूले तिहारको महिमा र अन्तर्य नै स्पष्ट रूपमा बोक्ने बताउनुहुन्छ, संस्कृतिविद् ग्वंगः ।
यमपञ्चक समेत भनिने तिहारको मुख्य पाँच दिन नै कुनै न कुनै रूपमा फूलको प्रयोग हुन्छ । सहरदेखि गाउँसम्म कुकुरतिहारको दिन गल्ली अनि गोरेटाहरूमा सयपत्री फूलको माला लगाएका कुकुरहरू ढल्कीढल्की हिँडिरहेका देख्छौँ । वर्षभरि दुर्दुर गरिएका बेवारिसे कुकुरलाई समेत त्यस दिन पेटभरि खान दिइन्छ, सके टीका र माला पनि लगाइन्छ । गाईगोरुलाई आफ्नै बारीमा फुलेको सयपत्रीको माला लगाई सिँगार्ने र पूजा गर्ने पद्धति पनि तिहार पर्वकै एक विशिष्ट पाटो हो । अर्ररो बाँझा खेतबारी जोतेर सघाउने गोरुको सम्मान गर्ने चलनले नेपालको किसान संस्कृति र जीवनपद्धतिलाई दर्शाउने संस्कृतिविद् ग्वंग बताउनुहुन्छ ।
त्यस्तै भाइटीकामा विशेष रूपमा प्रयोग हुने मखमली महिमा भनिसाध्य छैन । मखमलीको अलग्गै रङ र आकारले नै लोभ्याउँछ मानिसलाई । त्यसमाथि यो कहिल्यै नओइलाउने फूल कहलिएको छ । ‘त्यसैले दिदीबहिनीले दाजुभाइलाई दीर्घ जीवनको कामना गर्दै यही माला पहि¥याइदिन्छन् । यो फूल मात्र होइन, हाम्रो संस्कृतिको सुन्दर अन्तर्य हो । दीर्घजीवन कामनाको प्रतीक हो । यसको अमूर्त रहस्य यही हो । यस्तो सुन्दर चलन कहीँ छ ?’ ग्वंग भन्नुहुन्छ । भाइटीकामा कतिपयले मखमलीसँग सयपत्री र गोदावरी पनि मिसाएर माला लगाउँछन् । त्यत्ति मात्र होइन, घरका झ्यालढोका, भाँडाकुँडा, देउसीभैलोको दक्षिणाको थाली सजाउन पनि सयपत्री, मखमली र गोदावरीकै प्रयोग हुन्छ ।
यसरी नेपाली समाजमा मखमली, सयपत्री र गोदावरीको सांस्कृतिक महिमा यसको सौन्दर्यमा मात्र सीमित छैन । यी फूलले समाजको वर्गविभेद पनि हुनुहुँदैन भन्ने अर्थ बोकेको व्याख्या संस्कृतिविद् ग्वंगः गर्नुहुन्छ ।
धेरै फूल हुन्छन्, धनीका कोठा र बगैँचामा मात्र फुल्छन् । मालीले निकै सुसार, सिञ्चन गरेपछि मात्र फुल्न सक्छन् । ती सम्भ्रान्तवर्गीय फूल होइनन्, मखमली, सयपत्री र गोदावरी । ‘न गोडमेल, न राम्रो सिँचाइ, न रातदिनको स्याहारसुसार । यी एकदमै बेफुर्सदिलो किसानको आँगनमा पनि ढकमक्क फुलिदिन्छन् ।’ ग्वंग अथ्र्याउनुहुन्छ ।
बजारमा कति हो कति महँगा फूल पाइन्छन् । विश्वव्यापीकरणको युगमा लाखौँ माइल सुबिस्ताको यात्रा गरेर यो अल्पविकसित मुलुकमा आइपुगेका फूल पनि बजारमा पाइन्छन् । बजार न हो, चाहियो भनेपछि जे पनि दिन्छ । तर तिहारमा ती महँगा फूलको के काम ? यहाँका त सर्वत्र हाम्रै आँगन, करेसा, बारी, कान्लामा शारदीय मीठो बतासमा खेल्दै–झुल्दै फुलेका मखमली, सयपत्रीकै काम आउँछ । प्रशस्तै सम्पत्ति छ भन्दैमा कसैले पनि आयातीत गुलाब लगाएर त भाइटीका गर्दैन नि !

बजार
हिजो अधिकांश नेपाली किसान थिए । धेरैजसो मानिस गाउँमा बसोबास गर्थे । अब मानिस ठूला सहर र नगरमा बसाइँ सर्ने धेरै भए । केही गाउँ आफैँ पनि सहर बनेका छन् । अहिले तथ्याङ्क नै हेर्ने हो भने पनि कृषिकर्म गर्ने नेपालीको जनसङ्ख्या घट्दो छ ।
पहिले मानिस आफ्ना लागि आफैँ फूल रोप्थे, जोगाउँथे । बजार बुझ्नेहरू भन्छन्, अब फूल आफैँ लगाउँदैनन्, किन्न सजिलो मान्छन् । यसले मखमली, सत्रपत्री र गोदावरीको ठूलो बजार सिर्जना गरेको छ, व्यावसायिक फूल खेतीको सम्भावना बढेको छ । भक्तपुर, ताथलीका इन्द्रबहादुर वनमालालाई नै हेरौँ । उहाँका लागि मखमली फूल बेच्नु एउटा परम्परा मात्र होइन, व्यवसाय पनि बनेको छ । नेवार समुदायको पेसा विभाजनमा वनमाला समुदायले फूलको काम गर्ने जिम्मा पाएको हो । त्यसैले परापूर्वकालदेखि नै वनमाला समुदायले नेवार जातिभित्रका अन्य थरका मानिसलाई पूजाआजाका लागि घरघरै फूल पु¥याउने काम गर्थे । नेवार समुदायमा वनमालाले छोए मात्र पनि फूल चोखो हुन्छ भन्ने मान्यता रहेको बताइन्छ । इन्द्रबहादुर वनमाला पनि त्यसरी नै माली भई काम गरेका र समुदायमा फूल पु¥याउँदै आएको भक्तपुरको रैथाने परिवारको एक सदस्य हुनुहुन्छ ।
आधुनिकताले छुँदै गएपछि अन्य वनमालाको फूल पु¥याउने काम बिस्तारै विस्थापित हुँदै गयो । ‘बाहुनक्षेत्री लगायत अरूले समेत फूल रोप्ने र बेच्ने काम गर्न थाले । नेवारले पनि वनमालाकै फूल चाहिन्छ भनेर बसेनन् । अनि हाम्रो काम हराउँदै गयो ।’ इन्द्रबहादुर भन्नुहुन्छ, ‘पहिले घरघरमा फूल पु¥याएबापत पाउने अन्न र दक्षिणाले पेट पाल्ने वनमालाहरू अहिले अन्य पेसा गर्न थालेका छन् ।’
परम्परागत रूपमा फूल पु¥याएर हुने आम्दानीले जीविका गर्ने चलन घटे पनि वनमाला समुदायले फूल रोप्न भने छोडेको छैन । अहिले वनमाला समुदाय भक्तपुरको भित्री सहरभन्दा बाहिरका गाउँमा आफ्नै र केही भाडामा लिएका जग्गामा फूल खेती गर्छन् । विशेष गरी मखमली र सयपत्रीको खेती गरिएको छ । ताथलीमा मात्र वनमाला समुदायको एकाउन्न घरधुरी रहेको र तीमध्ये पाँचवटा बाहेक सबै परिवारको व्यावसायिक मखमली खेती रहेको इन्द्रबहादुर वनमाला सुनाउनुहुन्छ ।
इन्द्रबहादुरको परिवारले यसपालि तिहारमा पच्चीस सयदेखि तीन हजार वटा मखमली माला बेच्ने तयारी गरेको छ । पहिले निकै धेरै जग्गामा मखमली रोपेको भए पनि पोहोर साल भाउ नपाएका कारण यसपालि जम्मा एक रोपनीमा मात्र मखमली लगाएको उहाँले बताउनुभयो । मखमली फूलको माला ताथलीका वनमालाहरूले गोटाको ३० देखि ३५ रुपियाँमा बेचिरहेका छन् ।
ताथलीवासी हिजोआज मखमलीको माला बनाउन व्यस्त छन् । यसैगरी वर्षभरि नै फूलकै रेखदेख गर्दै बिताउँछन् वनमाला । उनीहरूका लागि मखमली, सयपत्री संस्कृति र जीवनपद्धति नै हो । ताथलीमा तिहारको बेला सबैको घरघरमा मखमलीका सयौँ मालाहरू झुण्ड्याइएको दृश्य देख्न पाइन्छ । अहिले गुण्डुमा पनि मखमलीको व्यावसायिक खेती गर्नेहरू बढेका छन् । त्यसैले सूर्यविनायक नगरपालिकाले फूल खेती गर्नेलाई अनुदान दिएर प्रोत्साहन पनि गरेको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान) का अनुसार हाल मखमलीमा नेपाल आत्मनिर्भर भएको छ । फानका महासचिव विश्वमणि पोखरेलका अनुसार यसपालि तिहारमा सात लाख मखमली माला खपत हुने अनुमान गरिएको छ । पाँच लाख नेपालमा र दुई लाख मखमली माला विदेश निर्यात हुन्छ ।
तिहारमा गोदावरी माला पनि ठूलो मात्रामा खपत हुन्छ । महासचिव पोखरेलका अनुसार तिहारमा शुद्ध नेपाली गोदावरीको १५ देखि २० हजार वटा माला खपत हुन्छ । गोदावरी फूलको त पुष्प व्यवसायीले तिहारको छेकोमा बर्सेनि ठूलो प्रदर्शनी नै गर्दै आएका छ । यसपालि पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले चार दिने प्रतियोगितात्मक मेला आयोजना ग¥यो ।
फानका अनुसार तिहारमा सबैभन्दा धेरै सयपत्री फूलको खपत हुन्छ । माला मात्र नभई घर, पसल, कार्यालय सजाउनसमेत प्रयोग हुने हुनाले सयपत्रीको बढी माग रहेको हो । यसपालि १८ लाख सयपत्रीको माला खपत हुने महासचिव पोखरेलले बताउनुभयो । जसमा १५ लाख ७५ हजार माला नेपाली किसानको उत्पादन र बाँकी दुई लाख २५ हजार माला भारतबाट आयात गर्नुपर्ने हुन्छ ।
नेपालका २२ जिल्लाका व्यावसायिक फूल किसानबाट तिहारका फूल आपूर्ति हुने गरेको छ । यसरी जम्मा २५ लाख माला तिहारको बजारमा बिक्री हुने पोखरेलले जानकारी दिनुहुन्छ । जसमा घरायसी प्रयोगका लागि आफैँ उत्पादन गर्नेको यहाँ गणना गरिएको छैन । यसरी मखमली, सयपत्री र गोदावरीको व्यापारमा यसवर्ष साढे १३ करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ ।
यो कारोबारमा धेरै महिला, गरिब, सीमान्तीकृतको पसिना परेको महासचिव पोखरेल बताउनुहुन्छ । गाउँघरमा धेरैको आत्मनिर्भरताको दरिलो आधार फूलखेती बनेको भनाइ उहाँको छ । यसर्थ फूल, प्रकृतिको एक उपहार वा सृष्टिको गर्भ हो वा सौन्दर्यको परिचायक मात्र हो त ? होइन । फूल सिर्जनाको प्रेरक, संस्कृतिको अर्थबोधक र बजारको बिक्रीयोग्य वस्तु पनि त हो ।
त्यसैले यो तिहारमा सबैको जीवन सुनसरि सयपत्रीझैँ समृद्ध होस् । मखमलीझै दीर्घजीवन सबैले प्राप्त गरुन् । अनि गोदावरीको सुगन्धले सबैको मन खुसी र सुखी होस् । आखिर ‘समृद्ध नेपाल, सुखी नेपाली’ त हाम्रो राष्ट्रिय आकाङ्क्षा नै हो ।

(लेखक गोरखापत्र दैनिकका समाचारदाता हुनुहुन्छ ।)

संभार:गोरखापत्र अनलाइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *