मैथिली साहित्य परिषदको शपथग्रहण सम्पन्न

राजविराज । मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वाचित पदाधिकारीहरुलाई एक समारोहबीच शपथग्रहण एवम् पदस्थापन गराइएको छ ।
शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मैथिली भाषा विश्वकै अति कर्णप्रिय भाषाहरुमध्ये एक भएको भए पनि हालसम्म उचित स्थान पाउन नसकेको बताउँदै उहाँले मैथिलीलाई सिमित घेरामा नराखी व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयहरुमासमेत एक विषय मैथिलीमा पठनपाठन गर्नुपर्ने सुझाव दिनुभयो ।

सोही समारोहमा प्रदेश २ का सभासद मनिषकुमार सुमनले मैथिली भाषा साहित्यको आफ्नै पहिचान एवम् प्राचीन इतिहास रहेको भए पनि शासकको कारण उपेक्षाको शिकार भएको बताउनुभयो । यस प्रदेशको कामकाजी भाषाको रुपमा मैथिलीको स्थान सुनिश्चित हुने विश्वास दिलाउँदै प्रदेशको नामांकरणको विषयमा कसैको स्पष्ट बहुमत नरहेकाले केही भन्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

त्यस्तै, प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले मैथिली भाषा मल्लकालीन समयमा राजकाजको भाषा रहेको जानकारी दिंदै यसको स्थान सुनिश्चित गराउन आफूहरु प्रतिबद्ध रहने बताउनुभयो । अति समृद्ध एवम् सुमधुर भाषा मैथिलीको विकासकालागि एकजुट भएर आवाज उठाउनुपर्नेमा उहाँको जोड थियो ।

परिषद्का निवर्तमान अध्यक्ष प्रा. अशोककुमार झाको अध्यक्षतामा मंगलबार आयोजित समारोहमा निर्वाचन समितिका प्रमुख पूर्वप्रधानाध्यापक नथुनी दासले नवनिर्वाचित अध्यक्ष सतिशकुमार दत्तलाई शपथग्रहण गराउनुभयो ।

गत असोज ११ गते सम्पन्न निर्वाचनबाट सतिशकुमार दत्तको अध्यक्षतामा उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पंकजकुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित हुनुभएको थियो ।

उक्त समितिमा जिबछ दास, मिथिलेशकुमार यादव, चन्दन यादव, भूपेशकुमार भूप, विद्यानन्द राम र ध्रुबकुमार मण्डल निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *