साबुन उद्योगको गोदाममा आगलागी

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको एउटा साबुन उद्योगको गोदाम घरमा बिहीबार दिउँसो आगलागी भएको छ। हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार गोदाममा प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने र्‍यापर (प्लाष्टिक), काटुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएको थियो।

घामका कारण केमिकल तातिएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ। उद्योग सञ्चालकले आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी गराएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तत्काल नियन्त्रणमा लिन सकिएका कारण आगो अन्यत्र फैलान नपाएको डीएसपी श्रेष्ठको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *