थरीथरीका बम भेटिए उपत्यकामा

आइतबार चारजनाको ज्यान जाने गरी उपत्यकामा शृंखलाबद्ध विस्फोट भए । सोमबारसम्म ११ ठाउँमा विस्फोटक पदार्थ रहेको सूचना आएकोमध्ये नौ ठाउँमा विस्फोटक पदार्थ भेटिएको नेपाली सेनाले जानकारी दिएको छ ।

सुकेधारामा टाइम बम विस्फोट भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । घट्टेकुलोमा विस्फोट भएको रिमोट कन्ट्रोलबाट चल्ने बम र नागढुंगामा विस्फोट भएको प्रेसर कुकर बम रहेको उनले बताए ।

सेनाले डिस्पोज गरेको लगनखेल, ग्वार्को, घट्टेकुलोमै भेटिएको अर्को, भैँसेपाटी र नयाँ बसपार्कमा भेटिएको पनि प्रेसकुकर बम हो ।त्यसबाहेक चापागाउँमा भेटिएको भने रिमोट कन्ट्रोलबाट चल्ने विस्फोटक पदार्थ हो । सुकेधारामै भेटिएको एक र नैकापमा भेटिएको अर्को भने नक्कली बम रहेको सेनाको भनाइ छ ।

प्रतिबन्धपछि विप्लवका ४१८ कार्यकर्ता पक्राउ
सरकारले २९ फागुनमा आपराधिक समूह घोषणा गरेर प्रतिबन्ध लगाएयता मुलुकभरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार सय १८ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार आइतबार र सोमबार मात्र मुलुकभरबाट विप्लवका १५ कार्यकर्ता पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट सात, ललितपुर एकान्तकुनाबाट चार, रुकुम पश्चिम आठबिसकोट–४ छेडीबगरबाट एक, झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट एक र सुर्खेतको भेरीगंगा नगरपालिका–१२ रत्नराजमार्गबाट दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले आतंकित तुल्याउने उद्देश्यले विस्फोट गराएको बताए । ‘सर्वसाधारणलाई आतंकित तुल्याउने उद्देश्यले यस्ता गतिवधि भएको देखिन्छ । हामीले सुरक्षा कारबाही बढाएका छौँ,’ उनले भने, ‘केही महिनाभित्रै चार सयभन्दा धेरै पक्राउ परेका छन् । यसले सम्भावित दुर्घटनालाई टारेको छ ।’

 बन्दको प्रभाव छिटफुट 
विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट परेको छ । बन्दका क्रममा सोमबार बिहान केही स्थानमा सवारीसाधनमा आगजनी भएको प्रहरीले जनाएको छ । मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ मा ना.७ ख ९४९३ नम्बरको ट्रक र थाहा नगरपालिका–१ मा ना.६ख ८००७ नम्बरको ट्रकमा आगजनी भएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका–८ मा ना.२ख ७४४४ नम्बरको बस, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–१६ मा बा.३च ९३ नम्बरको जिप, कालिकोट शुभकालिका गाउँपालिका–१ मा भे.७प ४७५७ र  भे.७ प ३५८ नम्बरका मोटरसाइकल र रामेछाप मन्थली नगरपालिका–६ मा ना.८ ख ३७७० नम्बरको टिपरमा आगो लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *