छोरा नपाएको आरोपमा  श्रीमतीको हत्या

कर्जन्हा नगरपालिका–११ बस्तीपुर हटलेवाकी २८ वर्षीया रितुकुमारी यादवको मृत्यु शंकास्पद रहेको माइती पक्षको आरोप छ । मृत्यु हुनु केहीबेरअघि मंगलबार रितुले युकेजीमा अध्ययनरत आठ वर्षीया छोरी पूजालाई खाजा पुर्‍याएर फर्किएकी थिइन् । घर आएको केही समयमै रितुको मृत्यु भएपछि माइती पक्षले हत्या भएको आरोप लगाएको छ ।

माइती पक्षले रितुका श्रीमान् चन्देश्वर यादवले नै हत्या गरेको आरोप लगाएको छ । चन्देश्वर र रितुको १० वर्षअघि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । उनीहरूकी आठ वर्षीया छोरी पूजा स्थानीय शिक्षान्तर इंग्लिस स्कुलमा अध्ययनरत छिन् । छोरा नजन्माएको भन्दै चन्देश्वरले यसअघि पनि पटक–पटक यातना दिँदै आएको रितुका पिता कपिल यादवले बताए ।

प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ । घटनाबारे प्रहरीलाई माइतीपक्षले जानकारी गराएको थियो । छोरीको मृत्युको खबर पाएका पिता कपिल यादव आफन्तसहित घटनास्थल पुगेका थिए ।

हत्या आरोपी चन्देश्वर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार रितुलाई चन्देश्वरले केही दिनअघि पनि कुटपिट गरेका थिए । चन्देश्वर नौ महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले घटना सम्बन्धमा अनुसन्धान भइरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *