सडकमा उत्रिए चापागाउँवासीसडकमा उत्रिए चापागाउँवासी

ललितपुर : धूलो, हिलो खाल्डाखुल्डीको हैरानीबाट मुक्तिको माग गर्दै ललितपुरस्थित चापागाउँवासीले सडक अवरुद्ध गरेका छन्। विस्तारका लागि सडक भत्काएर त्यत्तिकै छाडेका कारण धूला, हिलो र खाल्डाखुल्डीले वातावरण दूषित बनाएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।

ठेचो र चापागाउँका बजार क्षेत्रका पसलसमेत बन्द गरिएको छ। स्थानीयले शुक्रबार र शनिबार २ दिन बिहान ८ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए। आज भने साँझ ५ बजेसम्म बन्द गरिने स्थानीयले जनाएका छन्।

प्रदर्शनकारीले सडकमा ढुंगा, मुढा, टायरहरु राखि अवरोध गरेका छन्। अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन। सडक विस्तार गरी कालोपत्रे गर्न भनी २०७२ सालमा नै प्रक्रिया अगाडी बढाइएको भए पनि अहिलेसम्म ५ प्रतिशत मात्रै काम भएको स्थानीयको भनाई छ।

विस्तार गरी सडक कालोपत्रे गर्न अझै केही वर्ष लाग्ने भएकाले पहिलेकै सडकलाई कालोपत्रे गरी विस्तारको काम गर्नुपर्ने स्थानीयको माग छ।

सम्बन्धित निकायल आफूहरूको गुनासोप्रति वेवास्ता गरेकाले  सडक अवरुद्ध  गरी प्रदर्शनमा उत्रिनु परेको उनीहरुको दाबी छ। सवारी आवागमन ठप्प हुँदा दक्षिण ललितपुरका ३ वटा गाउँपालिका र उत्तर मकवानपुरबाट राजधानी आउनेलाई समस्या परेको छ।

स्राेत ः अन्नपुर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *