श्रीमतीलाई दिदी र छाेरालाई भाञ्जा बनाएर दाेस्राे विवाह गर्न खाेज्ने युवा पक्राउ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ घर बताउने ३५ वर्षीय वीर बहादुर स्याङतान बहुविवाह गरेको आरोपमा रौतहटबाट पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका-१ की एक महिलासँग विवाह गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

दोस्रो विवाह गर्न रौतहट पुगेका स्याङतानले श्रीमतीलाई दिदी र छोरालाई भञ्जा बनाएर जन्ती लिएर गएका थिए । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमा प्रेम सम्बधमा थिए ।

केटी पक्षले २३ (सोमबार) गते नै विवाहको तयारी गरे पनि स्याङतान २४ गते बिहान पुगेका थिए । सामान्या भेषमा पुगेका उनले बेहुलीका लागि कुनै सामान लिएर गएका थिएनन् । उनीको अवस्था देखी शंका लागेर स्थानीयले गाउँमा नै थुनेर राखेका थिए । मंगलबार बिहान केरकार गर्दा उनीसँग आएका दुई जना श्रीमती र छोरा भएको खुलासा भएको थियो ।

मंगलबार गाउँमा हल्ला भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले स्याङतान र उनकी श्रीमती र छोरालाई पक्राउ गरेको थियो । पक्राउ परेपछि स्याङतानले आफूसँग लामो समयदेखि फेसबुकमा ‘लभ’ परेको र बिहेको कुरासमेत गरेकाले आएको बताए । उनले भने, ‘घरकी श्रीमती फकाउन समय लागेकाले ढिला गरी भए पनि विवाहका लागि आएँ ।’

यस्तै, आफ्नै श्रीमानको दोस्रो विवाह गराउन आएकी संन्जीले भने बुढाको ढिपीका अगाडि आफ्नो केही नलागेको बताएकी छन् । उनले भनिन्, ‘श्रीमानले ढिपी गरेपछि विवाह गराउन दिदी बनेर आएँ, अरू केही होइन् ।’

केटीको घरबाट पक्राउ परेका स्याङतान र उनकी श्रीमतीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताएका छन् । केटी पक्षले भने उनीहरु केटी बेच्ने हुन सक्ने आशंका गरेका छन् ।

स्राेत ः नयाँ प ित्रका

Leave a Reply

Your email address will not be published. Required fields are marked *