सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?

सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ ।

किन मिचियो सिंहदरबार ?
०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएपछि उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाए ।

तत्कालीन गृह मन्त्रालयका सहसचिव पद्मराज सुवेदीको पनि अनामनगरमा सडकनजिकै जग्गा थियो । पछि उनले त्यही जग्गामा घर बनाए । अहिले बाजेको सेकुवासँगै पूर्वसचिव सीताराम खनालको घर छ । उनी त्यतिवेला मन्त्रिपरिषद् सचिवालयका सहसचिव थिए । नियमअनुसार आधा जग्गा सरकारको र आधा व्यक्तिको गरी सडक विस्तार भएको भए उनको जग्गा पनि काटिन्थ्यो ।

तत्कालीन संसद् सचिवालयका सहसचिव राधेश्याम भट्टराई (पछि सचिवबाट अवकाश)को घरजग्गा पनि सिंहदरबारसँग जोडिएको थियो । गुरुयोजनाअनुसार सडक विस्तार भएको भए त्यतिवेला सरकारको सहायक सचिव रहेका रणबहादुर श्रेष्ठ (पछि सचिवबाट अवकाश)को पनि जग्गा पथ्र्यो । अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणसँगै रहेको उनको घर भएको जग्गा त्यतिवेलै सडक बन्थ्यो ।

तत्कालीन समयमा राजदरबारका पुजारी नायब बडागुरुज्यू माधवप्रसाद भट्टराईको घर पनि सिंहदरबारको पूर्वी गेटसँगै थियो । त्यतिवेला विकासको मूल फुटाउने भन्दै न्युप्लाजाबाट सिंहदरबारको कम्पाउन्ड भत्काउँदै सरकारी जग्गाबाट बाटो विस्तार गरेको पूर्वएसएसपी इन्द्र न्यौपानेले बताए । त्यतिवेला इन्स्पेक्टर रहेका उनको घर नै सिंहदरबार कम्पाउन्डसँगै जोडिएको थियो । अहिले लोकसेवा आयोगसँगै उनको घर छ ।

०३९ मा तयार भएको सिंहदरबार गुरुयोजनामा अनामनगरदेखि न्युप्लाजासम्म सडक विस्तार नगरी अनामनगरस्थित व्यक्तिको जग्गासमेत अधिग्रहण गरेर सिंहदरबारको क्षेत्रफल बढाउन सकिने प्रस्ताव थियो । तर, त्यसविपरीत मन्त्रीस्तरीय निर्णयबाट ०४७ मा न्युप्लाजाबाट अनामनगरसम्म बाटो विस्तारको निर्णय गरियो । यसबाट सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा अतिक्रमित भयो ।

यो निर्णय गरेका थिए, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारका गहृमन्त्री योगप्रसाद उपाध्याय र भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले । गुरुयोजनाविपरीत गृहमन्त्री उपाध्यायकै उपस्थितिमा व्यक्तिको जग्गा नछुने र सिंहदरबार पर्खालभित्रबाट सडक विस्तारको निर्णय भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासे बताउँछन् । बाटो विस्तारका लागि सिंहदरबार गुरुयोजना परिमार्जन गर्ने निर्णय भने भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले गरेका थिए ।

सरकारले सिंहदरबार परिसरको गुरुयोजना कार्यान्वयन गर्न अधिकारसम्पन्न सिंहदबार सचिवालय पुनर्निर्माण समिति गठन गरेको थियो । समितिको अध्यक्ष भौतिक योजना तथा निर्माणमन्त्री हुने व्यवस्था थियो । अध्यक्षको हैसियतमा मन्त्री रेग्मीले सिंहदरबार परिसरको बृहत् गुरुयोजना क्षेत्रलाई तीन भागमा टुक्र्याएर वैद्यखाना क्षेत्र, हालको सिंहदरबार परिसर र बबरमहल क्षेत्र बनाए । त्यसपछि न्युप्लाजादेखि अनामनगर हुँदै हनुमानस्थानसम्म सिंहदरबार परिसरभित्रबाट बाटो खोलिएको थियो । तर, त्यो निर्णयको रेकर्ड संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई नदिइएको बेल्वासेले बताए ।

१६ पुस ०४९ मा सरकारले गठन गरेको पूर्वसचिव रामबहादुर रावल संयोजकत्वको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाटो विस्तारअघि सिट नं. ११०५/२० कित्ता नं. ९७ मा ६९३ रोपनी ९ आना क्षेत्रफलमा सिंहदरबार परिसर फैलिएको थियो । तर, सिंहदरबारलाई च्यापेर सडक विस्तार गर्दा ४२ रोपनी ६ आना जग्गा बाटोमा प¥यो । बाटो विस्तार गर्दा सडकको दुवैतर्फ समान रूपमा विस्तार गर्नुपर्नेमा सिंहदरबारपट्टिको जग्गा मात्र काटियो । यसले सिंहदरबारको क्षेत्र खुम्चियो ।

यस्तै न्युप्लाजाको पूर्वतर्फ बाँसघारीको उकालो सडकसँगै जोडिएको कान्लोमा कित्ता नं. ३६१ मा १ रोपनी १ आना सरकारी जग्गा थियो । त्यसमध्ये ११ आना ३ दाम सरकारी जग्गामा व्यक्तिले घर बनाएका छन् । हालै सार्वजनिक भएको रावल प्रतिवेदनले त्यो सडकसँगै जोडिएको कान्लो अतिक्रमण गरी घर बनाउँदा सडक विस्तार गर्न असुविधा हुने उल्लेख गरेको छ ।

काठमाडौं महानगरमा सरकारी र गुठीका १८ सय ५९ रोपनी जग्गा व्यक्तिका नाममा 
०५० अघि नै हालको काठमाडौं महानगरपालिकाभित्र पर्ने विभिन्न क्षेत्रमा एक हजार आठ सय ५९ रोपनी सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमण भएको खुलेको छ । १६ पुस ०४९ मा सरकारले गठन गरेको पूर्वसचिव रामबहादुर रावल संयोजकत्वको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ले तीन वर्ष लगाएर अतिक्रमित जग्गाको लगत संकलन गरेको थियो । आयोगले जग्गा फिर्ता ल्याउन सुझाबसहित ०५२ मा प्रतिवेदन बुझाए पनि सरकार अहिलेसम्म चुपचाप छ ।

आयोगको प्रतिवेदनमा अधिकांश जग्गा व्यक्तिको नाममा दर्ता भएको उल्लेख छ । हाल काठमाडौं महानगरपालिकाभित्र पर्ने साबिकका ३५ वटै वडामा वडैपिच्छे भएको जग्गा अतिक्रमणको विवरण प्रतिवेदनले खुलाएको छ । आयोगको प्रतिवेदनमा अतिक्रमित स्थान, जग्गाको कित्ता, अतिक्रमण गर्ने व्यक्ति र कित्ता नम्बरसमेत उल्लेख छ ।

पुरानो बानेश्वरदेखि शंखमूल पुलसम्म १८४ रोपनी ६१० जनाले गरे अतिक्रमण 
पुरानो बानेश्वर चोकदेखि पश्चिम धोबीखोला तथा त्यहाँबाट पूर्व बानेश्वर हाइट, नयाँबानेश्वर चोक र शंखमूलको पुलसम्मको क्षेत्रमा विभिन्न ८४ कित्तामा ६१० जना व्यक्तिले १८४ रोपनी २ आना जग्गा अतिक्रमण गरेका छन् । त्यसमध्ये बानेश्वर हाइट नजिकको धोबीखोलाको पुलदेखि शंखमूल घाटसम्म १७९ व्यक्तिले ६३ रोपनी १ आना जग्गा हडपेका छन् ।

त्यस्तै, साबिकको बानेश्वर महादेवस्थान गाविस वडा नं. ३ मा २२ रोपनी १० आना सरकारी जग्गामध्ये १५ रोपनी २ आना ४१ जनाले आफ्नो नाममा गरेका छन् । वडा ५ क मा २ रोपनी ११ आना सार्वजनिक जग्गा ५६ व्यक्तिको नाममा पुगेको छ । सोही वडामा २१ जनाले ४ रोपनी ११ आना सार्वजनिक जग्गा कित्ताकाट गरी आफ्नो बनाएका छन् ।

बानेश्वर महादेवस्थान–९ कको कित्ता नं. १४९ मा ९७ रोपनी ६ आना सरकारी जग्गा रहेकामा १०१ जना मिलेर ६७ रोपनी २ आनामा घर बनाएका छन् । सोही वडाको कित्ता नं. २५ मा २ रोपनी ५ आना जग्गा ६ जनाले अतिक्रमण गरेका छन् ।

स्वयम्भूको सरकारी जग्गामा व्यक्ति र संस्थाका संरचना 
साबिकको गाविस स्वयम्भू वडा नं. ४ को कित्ता नं.७२६ मा २५२ रोपनी ४ आना सरकारी जग्गा अतिक्रमण गरी घ्याङ, घर, करेसाबारी, कम्पाउन्ड, पानीट्यांकी बनाइएको छ । स्वयम्भू–१ डल्लुमा कित्ता नं. १ मा २ रोपनी १० आना जग्गा रहेकामा कान्छी, भाइकाजी र सिद्धिमान महर्जनले ३ वटा पक्की घर बनाएका छन् । त्यस्तै, कित्ता नं. ८ को ४ रोपनी ८ आना जग्गामा प्रहरीचौकी छ र केही जग्गा व्यक्तिले अतिक्रमण गरेका छन् । कित्ता नं. २८ को ११ आना सरकारी जग्गा कित्ता नं. १८७ को हकवालाले आफ्नो नाममा घुसाएको छ ।

त्यस्तै, स्वयम्भू–२ को कित्ता नं. ९६ को १ रोपनी १३ आना सरकारी जग्गा ठूले लामा र रामबहादुर घलेसहित विभिन्न व्यक्तिले अतिक्रमण गरेका छन् । स्वयम्भू–३ ख कित्ता नं. १ को १ रोपनी ८ आना सरकारी जग्गामा दोर्जे लामा र चुन्दरी लामाले पक्की घर बनाएका छन् । स्वयम्भू ७ कित्ता नं. १८ को ११ रोपनी७ आना सरकारी जग्गामा २ वटा पक्की घर बनाइएको छ ।

खोला छैन, अतिक्रमण गरेर पक्की भवन 
राजदरबारको दक्षिणतर्फ जय नेपाल सिनेमा हल हुँदै बग्ने टुकुचा खोलामाथि घर, भवनलगायतका संरचना बनेका छन् । तर, बनेका ती संरचनाको नाप–नक्सा नै छैन । त्यस्तै, साबिकको गोंगबु वडा नं. ४ गको नक्सामा पर्ने कित्ता नं. ४३२ को कुलो गोंगबु बसोवास योजनाभित्र परी लोप भएको छ ।

खोलासमेत अतिक्रमणको चपेटामा परेको छ । खोर्सानीटारबाट दक्षिण हुँदै नीलसरस्वतीतर्फ आउने साबिक काठमाडौं नगरपालिका वडा नं. २४ को कित्ता नं ३१३ मा २५ फिट चौडासहित ३ रोपनी ४ आना क्षेत्रफलमा कुलो बगेको थियो । पूर्व–पश्चिम दुवै छेउबाट ३२ वटा कित्ताले कुलोको २ रोपनी ७ आना २ पैसा २ दाम क्षेत्रफल मिचेर त्यहाँ घर बनेका छन् । यसैगरी, काठमाडौं नगरपालिका वडा नं. १३ अन्तर्गत खोल्सा, कुलो, खोलासमेत गरी विभिन्न व्यक्तिले ७ रोपनी ४ आना जग्गा अतिक्रमण गरेका छन् ।

पाँचतारे होटेलले पनि मिच्यो सार्वजनिक जग्गा 
साबिकको काठमाडौं नगरपालिका वडा नं. २२ मा पर्ने पाँचतारे होटेल सांग्रिलाबाट उत्तरतर्फ रानीबारी जाने बाटोको कित्ता नं. १४४ को १ रोपनी १४ आनाको कुलो बाटोमा प्रयोग भएको छ । त्यही बाटोमध्ये ७ आना जग्गामा होटेलले कम्पाउन्ड लगाई सार्वजनिक जग्गा मिचेको छ ।

अस्पताल र दूतावासआसपासका सार्वजनिक जग्गामा घरैघर 
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पश्चिम–उत्तरतर्फको साबिक वडा नं. २२ घ को कित्ता नं. ८९ को ४ रोपनी ४ आना क्षेत्रफलको सार्वजनिक जग्गामा १२ वटा घर बनेका छन् । त्यस्तै, कित्ता नं. १०२, १०३ र २७६ को १७ रोपनी १४ आना जग्गामा ७५ वटा घर बनेका छन् । भारतीय दूतावासको उत्तरतर्फको पर्खालपारि कित्ता नं.७८ र १४३ मा १ रोपनी २ दाम क्षेत्रफलमा अतिक्रमण गरी ६ वटा घर बनाइएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाअगाडि कित्ता नं. १५६ को ३ रोपनी ८ आनामा घर बनेको छ । साबिक धापासी गाविसको वडा नं. ८ खको प्रहरीचौकीनजिक कित्ता नं. ९१ को कुल जग्गामध्ये १ रोपनी १ आना जग्गामा नौवटा घर बनेका छन् । धापासी खोलाको डिल तथा किनारमा रहेका विभिन्न स्थानमा गरी २९ रोपनी ५ आना सार्वजनिक जग्गा अतिक्रमण गरी १२० घर बनाइएका छन् ।

कमलपोखरीको सरकारी जग्गामा घर बनाएर मालामाल 
कमलपोखरीको सरकारी जग्गासमेत व्यक्तिको नाममा गएको रावल आयोगको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा साबिकको कमलपोखरीको जग्गा अतिक्रमण असह्य भएको उल्लेख छ । मालपोत कार्यालय काठमाडौंले २६ भदौ ०३६ मा कित्ता नं ४०१ को १५ आना १ दाम एक पैसा क्षेत्रफलको जग्गा पदमकुमारी गुरुङको नाममा गरिदिएको छ । त्यस्तै, कित्ता नं ४०४ को २ रोपनी १० आना एक दाम एक पैसा क्षेत्रफलको जग्गा मणिरत्न गुरुङको नाममा गएको छ । त्यस्तै, कमलपोखरीमा सीता तामाङ्नीको नाममा कित्ता नं १३४० को ४ आना, कृष्णमायाको नाममा कित्ता नं १८५१ को एक आना ३ दाम र नाम नखुलेको एक व्यक्तिको नाममा कित्ता नं ३६८ को १२ आना जग्गा गएको छ ।

छाडिएन मन्दिरको मूल ढोका पनि 
साबिकको काठमाडौं नगरपालिका–१ को कित्ता नं.७६२ को १ रोपनी २ आना सार्वजनिक जग्गा अतिक्रमण भएको छ । मन्दिरको मूल ढोकाको दक्षिणतर्फ अवरोध गरी १४ वटा घर बनेका छन् । मन्दिरको उत्तरी भागमा बाटो बन्द गरी मञ्जु थापाले पक्की घर बनाएकी छिन् ।

सोही वडामा सेतो दरबार रहेको कित्ता नं. १०१ को जग्गा देवेन्द्र शमशेर जबरा र कित्ता नं. १०२ को जग्गा भिक्षुरत्न शाक्यको नाममा दर्ता छ । सेतो दरबार ऐतिहासिक तथा पुरातात्विक दरबार हो । तर, त्यस दरबारको ढोकाको पश्चिम खम्बाको उत्तरभाग भत्काई व्यक्तिले घर बनाएका छन् ।

सार्वजनिक जग्गा मिचेर निजी बाटो 
पुरातात्विक तथा ऐतिहासिक महत्वको नक्साल नागपोखरी मन्दिर रहेको कित्ता नं. ४५१ को ५ रोपनी ५ आना २ दाम र कित्ता नं. ५५२ को १० आना जग्गा श्यामकुमार गिरी र श्याम श्रेष्ठको नाममा गएको छ । त्यस्तै, नक्साल नारायणचौरको नारायण मन्दिरको दक्षिणपट्टिको ४ आना २ दाम जग्गा शाह महलको कम्पाउन्ड जाने निजी बाटोका रूपमा प्रयोग भएको छ ।

मन्दिरको जग्गा मिचेर बाँडीचुँडी 
नक्साल भगवानबहाल गुठीको २ रोपनी २ आनामध्ये कित्ता नं. १२१५ को १४ आना जग्गा मात्र मन्दिरको नाममा कायम राखेर बाँकी विभिन्न व्यक्तिका नाममा नापीको फिल्डबुक तयार भएको छ । आयोगले उक्त जग्गा व्यक्तिका नाममा गएकोमा कारबाही गर्न गुठी संस्थानलाई निर्देशन दिएको थियो । तर, आयोगको प्रतिवेदन कार्यान्वयन नै भएको छैन । कित्ता नं. ४७९ को २१ रोपनी ३ आना जग्गा नन्दिकेशर बहाल गुठीका नाममा दर्ता थियो । तर, मन्दिर फैलिएको भन्दा बाँकी जग्गामा व्यक्तिका घर बनेका छन् ।

विशालनगरमा राजदूत निवासदेखि मन्दिरसम्मको जग्गा अतिक्रमण 
चुँडालदेवी मन्दिरको कुल क्षेत्रफल १० रोपनी पाँच आना दुई दाम छ । तर, मन्दिर, चिहान र बगैँचाले सात रोपनी १० आना मात्र ओगटेको छ । बाँकी दुई रोपनी दुई आना एक पैसा जग्गा १४ जनाले अतिक्रमण गरेर घर बनाएका छन् ।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट दक्षिण–पश्चिमतर्फ भाटभटेनी मन्दिर भएको कित्ता नं. १२७ को एक रोपनी दुई आना सार्वजनिक जग्गामा १० वटा घर बनेका छन् ।
विशालनगर टेम्पो बिसौनीदेखि उत्तर–पश्चिमतर्फको १९ रोपनी १२ आना क्षेत्रफलको जग्गामध्ये पाँच आना एक दाम विभिन्न व्यक्तिले निजी प्रयोग गरेका छन् । त्यही बाटोको बीचभागको १० आना एक दाम क्षेत्रफलको जग्गा कीर्तनकृष्ण भट्टराईले आफ्नो नाममा दर्ता गरी प्रयोग गरेका छन् ।

विशालनगर टेम्पो बिसौनीबाट दक्षिणतर्फ फ्रान्सेली राजदूतको निवासनजिकै बाटोको पश्चिमतर्फ कित्ता नं. २३, २४ र २५ ले चार आना दुई पैसा सार्वजनिक जग्गा मिचेर बाटोबाटै पर्खाल लगाएका छन् ।

पोखरी नै मिचेर घर 
साबिक बौद्ध गाविस वडा नं. ७ घ कित्ता नं. ५६ को सात रोपनी १३ आनामध्ये सात रोपनी १० आना, कित्ता नं. ५८ को नौ रोपनी सात आनामध्ये दुई रोपनी १५ आना, कित्ता नं. २१ को सात रोपनी सात आनामध्ये तीन रोपनी तीन आना र कित्ता नं. १७२ को १५ रोपनी १० आनामध्ये तीन रोपनी १० आना जग्गा मिचेर विभिन्न व्यक्तिले घर बनाएका छन् । साबिक बौद्ध गाविसकै वडा नं. ४ क कित्ता नं. १२५ को एक रोपनी तीन आना सार्वजनिक जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा नापी गराएका छन् । कित्ता नं. १२४ को बागमती नदीकिनारको जग्गा पनि मिचिएको छ । बौद्ध गाविसकै वडा नं. ७ ङ कित्ता नं. ९ र १० को चार रोपनी दुई आना एक पैसा क्षेत्रफलको सार्वजनिक जग्गा व्यक्तिको नाममा नक्सा बनेको छ ।

वडा नं. ७ ख को कित्ता नं. ६९ को आठ आना तीन दाममा फैलिएको पोखरी, ७ ग को कित्ता नं. ११४ र ११५ को एक रोपनी पाँच आना, कित्ता नं. १ को नौ रोपनी तीन आना, ८ ख कित्ता नं. १७२ को १५ रोपनी १० आना, ९ घ को कित्ता नम्बर १ को १६ रोपनी १५ आना सार्वजनिक जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएका छन् ।

धोबीखोलाको १५ रोपनी जग्गामा घर 
साबिक २९ ख कित्ता नं. ३४० को धोबीखोला किनारको ३५ रोपनीमध्ये १५ रोपनी ३ दाम जग्गा विभिन्न व्यक्तिले १० कित्ता बनाई घर ठड्याएका छन् ।

मसानघाटको बाटो अतिक्रमण
चाबहिल वडा नं. २ क मा कित्ता नं. १३ को पाँच रोपनी तीन आना एक पैसा जग्गा विभिन्न नौजना व्यक्तिले आ–आफ्नो नाममा पारेर घर बनाएका छन् । त्यो स्थान मसानघाट जाने बाटो हो । वडा नं. ३ को कित्ता नं. १२६ को आठ रोपनी चार आना तीन पैसा एक दाम जग्गा आठजनाले मिचेका छन् ।

यस्तै चाबहिल गणेशस्थान क्षेत्रको पश्चिम–दक्षिणतर्फको पाँच रोपनी १२ आना सार्वजनिक जग्गा घर कम्पाउन्ड बनाएर अतिक्रमण गरिएको छ । चाबहिल वडा नं. ६ कै कित्ता नं. ५४ को भण्डारेश्वर महादेवको मन्दिरको पूर्वतर्फको जग्गामा व्यक्तिका घरहरू बनेका छन् । वडा नं. ८ को कित्ता नं. ११० को पाँच रोपनी सात आना क्षेत्रफलको सार्वजनिक जग्गा १५ जनाले व्यक्तिको नाममा दर्ता गरेका छन् । वडा नं. ९ ‘क’को साबिक कित्ता नं. ३ को २१ रोपनीमध्ये १५ रोपनी जग्गा ३० जना मिलेर मिचेका छन् ।

साबिक कोटेश्वर वडा नं. २ कको विभिन्न कित्ता गरी आठ आना जग्गामा व्यक्तिले घर बनाएका छन् । त्यस्तै, वडा नं. २ ख को कित्ता नं. २४० को ११ रोपनी चार आना सरकारी जग्गामा नौवटा घर बनेका छन् ।

पेप्सीकोलाले पनि मिच्यो सार्वजनिक जग्गा
साबिक सिनामंगल ९ खको कित्ता नं. ७१ मा सार्वजनिक जग्गामा आठवटा घर बनाइएको छ । सिनामंगल ७ खमा कित्ता नं. ५६९ को ढलको केही भाग पेप्सीकोलाले आफ्नो कम्पाउन्डभित्र पारेको छ । तर, अतिक्रमित जग्गाको क्षेत्रफल आयोगको प्रतिवेदनमा खुलेको छैन ।

यसैगरी सानोठिमी जाने मनोहरा खोलाको पुरानो पुलदेखि उत्तरपट्टि कोटेश्वर ७ घ को कित्ता नं. २५६ को खोलाको बगरमा ६० जना मिलेर ५१ रोपनी १५ आना सरकारी जग्गा कित्ताकाट गरी व्यक्तिका नाममा लगेका छन् । कित्ताकाट भएको स्थानमा खोला नियन्त्रणका लागि लगाएको तटबन्धमा प्रयोग भएका ढुंगासमेत व्यक्तिले झिकेका छन्, तटबन्धभित्रको जग्गासमेत व्यक्तिको नाममा गएको छ ।

सिनामंगल ७ घकै कित्ता नं. २५० को मनोहरा खोलाको बगर कित्ताकाट गरी कित्ता नं. २७४ र २७५ कायम गरी व्यक्तिको नाममा लगिएको छ । कित्ता नं. २७५ मा ४ रोपनी १ आना र कित्ता नं. २७४ मा २ रोपनी ३ आना जग्गा मिचिएको छ ।

बागमती नदीको जग्गामा पनि गिद्देदृष्टि 
भीमसेनगोला वडा नं.४ घ स्थित बागमती नदीमा कित्ता नं. ११२ को २ रोपनी ६ आना जग्गा ६ जनाले अतिक्रमण गरेका छन् । त्यस्तै, वडा नं. ४ ङको कित्ता नं. ११७ को ३२ रोपनी ८ आना सरकारी जग्गा ३५ जनाले मिचेका छन् । त्यही ठाउँमा ४९ जनाले थप ६४ रोपनी ११ आना जग्गा मिचेका छन् । वडा नं. १ गको कित्ता नं. ६२ मा ६ रोपनी २ आना सरकारी जग्गा ५ जना मिलेर अतिक्रमण गरेका छन् ।

साबिक भीमसेनगोला वडा नं. १ क स्थित बागमती नदीमा कित्ता नं. ११२ को ७ रोपनी ४ आना सरकारी जग्गा पाँचजनाले अतिक्रमण गरेका छन् । त्यस्तै ११ जनाले २८ रोपनी चार आना जग्गा आफ्नो बनाएका छन् । वडा नं. २ कमा कित्ता नं. ९२ को ५ रोपनी १३ आना जग्गा एकजनाको नाममा दर्ता भएको छ । सोही क्षेत्रमा ५ जना मिलेर १९ रोपनी १० आना जग्गा मिचेका छन् ।

भीमसेनगोला वडा नं. २ ङ स्थित बागमती नदीमा कित्ता नं. ११० को ६ रोपनी तीन आना जग्गा आठजनाले अतिक्रमण गरेका छन् । सोही क्षेत्रमा तीनजना मिलेर थप आठ आना जग्गा मिचेका छन् । वडा नं. ४ क स्थित बागमती किनारमा कित्ता नं. ४१९ को ९ रोपनी २ आना जग्गा १२ जना मिलेर मिचेका छन् । नदीकिनारकै थप १५ रोपनी १५ आना जग्गा ११ जनाले आफ्नो पारेका छन् ।

सिनामंगल २ खको कित्ता नं. १०१ मा बागमती खोलाको धार परिवर्तन गरी साबिकभन्दा दक्षिणतर्फ बगाउनाले उकास हुन आएको २६ रोपनी १४ आना जग्गामा ४७ वटा घर बनाइएको छ । त्यो जग्गा ०३८ देखि ०४३ सम्म गुठी संस्थानमा बाली धरौटी राखिएको थियो ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालबाट त्यस क्षेत्रको जग्गा व्यक्तिका नाममा गराइएको हो । यसबारे अदालतमा मुद्दासमेत चलेको थियो । सिनामंगल वडा नं. ५ कको कित्ता नं. ४०३ को बागमती खोलाको पूर्वतर्फको अर्यालपोडे टोलदेखि पश्चिम–दक्षिणतर्फको दुई रोपनी पाँच आना क्षेत्रफल जग्गामा १२ वटा घर बनेका छन् ।

विष्णुमतीको जग्गा मासेर ठडिए घर 
विष्णुमती खोला अतिक्रमण गरी १९६ परिवारले ४६ रोपनी १४ आना क्षेत्रफलमा घर बनाएका छन् । २६४ रोपनी १२ आनामध्ये ०५१ मै खोलाको ४६ रोपनी जग्गा अतिक्रमण भएको थियो । त्यस्तै, विष्णुमतीको किनारमा सात रोपनी १० आना क्षेत्रफलको जग्गा मिचेर १२५ वटा घर बनेका छन् ।

हाँडीगाउँमा मासियो पोखरी 
हाँडीगाउँ–२५ ग कित्ता नं. ६० मा रहेको पोखरीको नौ रोपनी आठ आना जग्गामध्ये पाँच रोपनी १३ आना उषा केसीसहित २० जनाले पक्की घर बनाएर अतिक्रमण गरेका छन् । वडा नं. २५ ङ कित्ता नं. १३ को गौचरण चउर मिचेर घर बनाइएको छ ।

पावरहाउसको जग्गामा पनि घर 
बालाजु ३ ख कित्ता नं. ६६ स्थित ३६ रोपनी २ आना क्षेत्रफलमा रहेको पावरहाउसको जग्गामा २७ जनाले ३ रोपनी ३ आना २ पैसा जग्गा मिचेका छन् ।

कालिमाटीमा सार्वजनिक जग्गा मिचेर साढे ३ सय घर
साबिक टंकेश्वर, तहाचल र कालिमाटी क्षेत्रका सार्वजनिक बाटो, सत्तल, पाटी, घाट, कुलो, सरकारी जग्गा र विष्णुमतीको बगरसमेतमा गरी ३३९ वटा घर बनेका छन् । यस क्षेत्रमा करिब २२ रोपनी सरकारी जग्गा अतिक्रमणमा परेका छन् ।

मालपोत, नापी र अदालत भएकै जग्गा मिचियो
साबिकमा जिल्ला प्रशासन कार्यालय, नापी विभाग, मालपोत कार्यालय, जिल्ला अदालतसमेत रहेको डिल्लीबजारको चारखाल अड्डा नै भूमाफियाको अतिक्रमणमा परेको छ । कित्ता नं. २०३ मा पर्ने १५ रोपनी ९ आना २ पैसा २ दाम क्षेत्रफल ओगटेको अड्डाको पूर्व कुना र पूर्वदक्षिण कुना मिचिएको छ । ‘सामान्य दृष्टिले हेर्दा यथावतै लाग्ने यस क्षेत्रको भूभाग पनि मिचेको देखिन्छ,’ आयोगले प्रतिवेदनमा भनेको छ । यस कित्ताको पूर्वी कुना र पूर्वदक्षिण गरी २ स्थानमा गरी कित्ता नं. २०१ ले ३ आना १ पैसा ३ दाम जग्गा मिचेको छ । पूर्वी कुनामा सरकारी जग्गामा कम्पाउन्ड बनाइएको छ भने दक्षिणपूर्वतर्फ फलफूल खेती गरिएको छ । ‘सरकारी तथा सार्वजनिक जग्गाको सुरक्षा गर्ने कार्यालय भएकै ठाउँमा सरकारी जग्गा अतिक्रमण भइरहेको स्पष्ट देखिँदा पनि कारबाही भएको नदेखिएकाले बत्तीमुनि अँध्यारो भन्ने उखान चरितार्थ भएको मान्नुपर्‍यो,’ आयोगले भनेको छ ।

स्राेत ः नयाँ पित्रका

Leave a Reply

Your email address will not be published. Required fields are marked *